चीनसँग ५ क्षेत्रमा सहकार्य विस्तार गर्न रास्वपाको प्रस्ताव, सिचुवानले दियो सकारात्मक प्रतिक्रिया

Advertisement Ads
चीनसँग ५ क्षेत्रमा सहकार्य विस्तार गर्न रास्वपाको प्रस्ताव, सिचुवानले दियो सकारात्मक प्रतिक्रिया
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँग पूर्वाधार, विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा, हवाई सम्पर्क तथा व्यापार र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेको छ। चीनको सिचुवान प्रान्तीय कम्युनिस्ट पार्टीका सचिव वाङ स्याओहुईसँग चेङ्दुमा भएको भेटवार्तामा रास्वपा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले यी क्षेत्रलाई साझा प्राथमिकताका रूपमा अघि सारेको हो।

मंगलबार भएको भेटमा नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धिमा केन्द्रित व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको थियो। चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डलले राखेका प्रस्तावलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

भेटका क्रममा सिचुवान प्रान्तीय सचिव वाङले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी दिएका थिए। उनले नेपाल र चीन शताब्दियौँदेखि मैत्रीपूर्ण सम्बन्ध कायम राखेका असल छिमेकी र साझेदार रहेको उल्लेख गरे।

गत भदौमा रसुवाको सीमावर्ती क्षेत्रमा आएको गेग्रानसहितको बाढीबाट दुवै देशमा भएको जनधनको क्षति स्मरण गर्दै वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको बताए। दुवै देशले मिलेर विपद्को सामना गरेको घटनालाई उनले परम्परागत मित्रताको उदाहरणका रूपमा प्रस्तुत गरे।

जवाफमा महामन्त्री आचार्यले भोटेकोशी विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरे। विपद्पछि चीनले आफ्नै भूमिमा उद्धार तथा राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा समेत तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको भन्दै उनले उक्त सहयोग र ऐक्यबद्धता नेपालले सधैँ सम्झने बताए।

Advertisement Ads

नेपाली प्रतिनिधिमण्डलले भ्रमणअघि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेको जानकारी गराउँदै दल र सरकार दुवै चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको थियो।

प्रतिनिधिमण्डलले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गरेको थियो। साथै, एक–चीन सिद्धान्त नेपालको दशकौँदेखिको स्थिर अडान भएको र रास्वपा तथा सरकारले त्यसलाई निरन्तरता दिने बताएको थियो। नेपाली भूमि चीनको सार्वभौमसत्ता तथा सुरक्षाविरुद्ध प्रयोग हुन दिन नहुने धारणा पनि राखिएको थियो।

रास्वपा प्रतिनिधिमण्डलले फरक राजनीतिक प्रणाली र विचारधारा भए पनि नागरिकको विश्वासको सम्मान गर्दै उनीहरूको हित र समृद्धिका लागि काम गर्नु दुवै पक्षको साझा उद्देश्य भएको बताएको थियो। पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक तथा शासनसम्बन्धी अनुभवलाई खुला दृष्टिले अध्ययन र अवलोकन गर्न चाहेको पनि जनाएको थियो।

यस क्रममा रास्वपाले आफूलाई स्पष्ट राजनीतिक इच्छाशक्ति र कार्यान्वयन क्षमता भएको स्थिर सत्तारूढ शक्तिका रूपमा प्रस्तुत गर्दै विकास आयोजनाको कार्यान्वयनलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

सिचुवानले समझदारी कार्यान्वयनमा सहयोग गर्ने

भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य क्रमशः अघि बढिरहेको बताए। नेपालसँग निकट सम्पर्क भएका चिनियाँ प्रान्तमध्ये सिचुवान पनि एक रहेको उल्लेख गर्दै उनले दुवै देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा योगदान गर्ने प्रतिबद्धता जनाए।

उनले यस भ्रमणलाई नेपाल र सिचुवानबीच पार्टीगत तथा सरकारी तहको सम्बन्ध थप बलियो बनाउने र नयाँ क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद दिए। उनले सिचुवानलाई नेपालको विश्वासिलो र दीर्घकालीन साझेदारका रूपमा उल्लेख गर्दै पारस्परिक लाभका क्षेत्रमा सम्बन्ध विस्तार गर्न चाहेको बताए।

सहकार्यका पाँच प्राथमिकता

नेपाली प्रतिनिधिमण्डलले चीनसँग सहकार्य विस्तारका लागि पाँच क्षेत्र प्रस्ताव गरेको छ।

१. सीमापार यातायात तथा पूर्वाधार

नेपाल र चीनबीच सीमा जोडिए पनि सुरक्षित र भरपर्दो सीमापार यातायातको चुनौती रहेको प्रतिनिधिमण्डलले उल्लेख गरेको छ। पछिल्ला विपद्ले बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको भन्दै हिमालपारिको व्यापार र आवागमन सुरक्षित बनाउन सहकार्यको प्रस्ताव गरिएको छ।

२. पर्वतीय अध्ययन तथा विपद् व्यवस्थापन

नेपाल र सिचुवानको पर्वतीय वातावरण तथा विपद् जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञबीच सहकार्य गर्न सकिने प्रस्ताव गरिएको छ। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक निर्माण र विपद् पूर्वतयारीका विषयमा ज्ञान तथा सूचना आदानप्रदान गर्न सके जनधनको क्षति घटाउन सहयोग पुग्ने नेपाली पक्षको भनाइ छ।

३. स्वच्छ ऊर्जा तथा हरित उद्योग

नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्न प्रस्ताव गरिएको छ। यसबाहेक हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा समेत साझेदारीको सम्भावना औँल्याइएको छ।

४. हवाई सम्पर्क, पर्यटन तथा व्यापार

नेपाली प्रतिनिधिमण्डलले चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवाका लागि थप प्रत्यक्ष उडानको सम्भावना खोज्न आग्रह गरेको छ। यसले पर्यटन, व्यावसायिक आवागमन र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने नेपाली पक्षको भनाइ छ।

त्यस्तै, नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाका वस्तुको चीनमा निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचका क्षेत्रमा प्राविधिक तथा व्यावसायिक सहकार्यको प्रस्ताव गरिएको छ।

५. युवा तथा डिजिटल नवप्रवर्तन

नेपालका प्रविधिमा रुचि राख्ने युवा र स्वच्छ विद्युत्को सम्भावनालाई सिचुवानको अनुसन्धान क्षमतासँग जोडेर सहकार्य गर्न प्रस्ताव गरिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टर यसका प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गरिएका छन्।

संयुक्त अनुसन्धान तथा ज्ञान आदानप्रदानमार्फत नेपाली युवाका लागि नयाँ अवसर सिर्जना गर्न सकिने प्रतिनिधिमण्डलको धारणा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स