सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत किन्ने तयारीमा प्राधिकरण

Advertisement Ads
सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत किन्ने तयारीमा प्राधिकरण
Advertisement Ads

आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो।

प्राधिकरणले भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूबाट प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्ने योजना बनाएको छ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्न लागिएको हो।

पछिल्ला दुई–तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतको विद्युत पावर एक्सचेन्जको डे अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोशीमा आएको हिमबाढीका कारण आयोजनाहरूमा थप क्षति पुगेपछि आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। बाढीका कारण करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको छ।

प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले गत भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न सिफारिस गरेको थियो। अप्रिल र मे महिनामा माग बढ्ने भएकाले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत खरिद गर्ने विकल्पसमेत खुला राखिएको थियो।

पुरानो प्रस्तावमा दर नमिलेपछि नयाँ प्रक्रिया

Advertisement Ads

प्राधिकरणले यसअघि १५० मेगावाट विद्युत खरिदका लागि भारतका तीन कम्पनीसँग दररेट माग गरेको थियो। जसमा एनटीपीसी ट्रेडिङ कर्पोरेसनले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जीले ८ रुपैयाँ ५० पैसा र एसजेभीएनले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए।

सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई असोज १६ गते आशयपत्र जारी गरिएको थियो। तर, विद्युत खरिद सम्झौताका लागि बोलाएपछि कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जानकारी गरायो।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्य वृद्धि, मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत मागलाई कारण देखाउँदै पुरानो दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो।

यसैबीच, भारतीय विद्युत बजारको डे अहेड मार्केटमा २०८३ असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट ११ रुपैयाँ ७४ पैसा नेपाली अर्थात् ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको थियो। यसले पुरानो प्रस्तावित दरमा सम्झौता हुन नसकेको अवस्थालाई थप जटिल बनाएको छ।

सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न कठिन

आगामी सुख्खायामसम्म राष्ट्रिय विद्युत प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको छ। तर, नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ।

यसले आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गर्न कठिन हुने देखिएको छ। त्यसैले पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो।

अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विभिन्न भारतीय कम्पनीबाट प्रस्ताव माग गरी तुलनात्मक रूपमा सस्तो दरमा विद्युत खरिद गर्ने प्राधिकरणको योजना छ। समयमै आयातको व्यवस्था मिलाउन सके आगामी सुख्खायाममा विद्युत आपूर्ति जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स