‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्दै, फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो’

Advertisement Ads
‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्दै, फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो’
Advertisement Ads

नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियन फुटबल महासंघ (एएफसी) का पदाधिकारीसँगको छलफलपछि निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढ्ने जानकारी दिएका हुन्।

थाइल्यान्डमा फिफा र एएफसीका अध्यक्षसहितका पदाधिकारीसँग भेटवार्ता गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको बताएका छन्।

मन्त्री पोखरेलका अनुसार फिफा र एएफसी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएका छन्। निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन।

यस विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ। त्यसपछि निर्वाचनको मोडालिटी, समय र प्रक्रियाबारे थप स्पष्ट हुने मन्त्री पोखरेलले बताएका छन्।

उनले पत्रकार सम्मेलनमा भने, ‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ। तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,’

Advertisement Ads

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी गठन गरेर अघि बढ्ने भन्ने विषय भने अझै निर्णय हुन बाँकी छ। तहगत निर्वाचन गराउने विषयमा सहमति भए पनि त्यसको मोडालिटी र समय निर्धारण हुन बाँकी रहेको मन्त्री पोखरेलले स्पष्ट पारेका छन्।

यसअघि फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’ अर्थात् तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको थियो। तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफाको धारणा सकारात्मक बनेको मन्त्री पोखरेलको भनाइ छ।

उनले सरकारको धारणा स्पष्ट पार्दै भने, ‘राज्यले गर्ने काम आफैं गर्छ। देशको कानुनअनुसार काम हुन्छ। त्योभन्दा बाहेक हामीले केही हस्तक्षप गर्दैनौं भनेर उहाँहरूलाई जानकारी गरायौं। त्यसमा उहाँहरू सकारात्मक हुनुभयो,’

नेपाली फुटबलप्रति सरकारले देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको मन्त्री पोखरेलले बताएका छन्।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स