वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। यसका लागि वैदेशिक रोजगार विभागले आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ३५ दिनको अल्टिमेटम पूरा भएपछि फरार व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने जानकारी दिएका छन्।
वैदेशिक रोजगार विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो।
तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने विभागले सूचनामार्फत जनाएको थियो।
अब विभागले उक्त अवधिभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको छ। यसका लागि सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार पारेर राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइएको छ।
मंसिर १४ गते राष्ट्र बैंकलाई पत्राचार गर्ने र त्यसपछि फरार व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने मन्त्री यादवले बताएका छन्।
वैदेशिक रोजगारका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन यो कदमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रण गर्ने, पीडितलाई न्याय दिलाउने र ठगीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले यस्तो प्रक्रिया अघि बढाएका हुन्।

प्रतिकृया