अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न र सरकारले निर्धारण गरेको लक्ष्यअनुसार राजस्व संकलन गर्न भन्सार प्रशासनलाई निर्देशन दिएका छन्। उनले राजस्व चुहावटमा शून्य सहनशीलताको नीति अपनाउन र लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने कार्यालयहरूलाई नोटिसमा राखिने चेतावनी दिएका छन्।
अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार विराटनगर पुगेका मन्त्री वाग्लेले मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको अवलोकन गरेका थिए।
अवलोकनपछि भन्सार प्रशासनलाई निर्देशन दिँदै उनले राजस्व चुहावट रोक्न कडाइका साथ काम गर्न र लक्ष्यअनुसार राजस्व संकलनमा विशेष ध्यान दिन आग्रह गरे।
राजस्व संकलनका लागि आवश्यक पूर्वाधार तथा अन्य सहयोग मन्त्रालयबाट उपलब्ध गराउन तयार रहेको भन्दै उनले त्यसका लागि आवश्यक माग निर्धक्क राख्नसमेत निर्देशन दिए। तर, लक्ष्यअनुसार राजस्व संकलन नगर्ने कार्यालय र त्यसको नेतृत्वलाई मूल्यांकनका क्रममा ध्यान दिइने उनको भनाइ थियो।
मन्त्री वाग्लेले भने, “राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस्। त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,”राजस्व संकलनको लक्ष्य प्राप्तिका आधारमा भन्सार कार्यालयहरू र यसको नेतृत्वको मूल्यांकन गरिनेछ।”
उनले सरकारको ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्यलाई आत्मसात् गरेर काम गर्न पनि निर्देशन दिए। भन्सार प्रशासनमा दस्तुर वा थप दस्तुरका नाममा हुने झन्झटबारे आफूले गुनासो सुन्न नपरोस् भन्दै उनले राजस्व ठगी तथा छल्ने गतिविधिमा संलग्नलाई भन्सार क्षेत्रमा कुनै पनि किसिमको संरक्षण हुन नहुने बताए।
विराटनगर भन्सारको कामकारबाही छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासका लागि थप सहयोग चाहिने भए स्पष्ट रूपमा माग राख्न पनि उनले निर्देशन दिए। व्यापार प्रवर्द्धन र राजस्व संकलन दुवैलाई सरल तथा सहज बनाउँदै व्यावसायिक वातावरण निर्माण गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए।
कार्यक्रममा राजस्व महाशाखा प्रमुखसमेत रहेका निमित्त अर्थसचिव डा. सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) घोषणा प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।
उनले भन्सार क्षेत्रमा दुईवटा गेट निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै अनलाइन मूल्यांकन प्रणालीको प्रभावकारिताबारे थप छलफल गर्नुपर्ने बताए।
सो अवसरमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाहीबारे प्रस्तुति दिएका थिए।

प्रतिकृया