सेयर बजारमा लगानी गर्दा नाफा छिटो बुक गर्ने तर घाटा हुँदा लामो समयसम्म होल्ड गर्ने प्रवृत्तिले लगानीकर्ता ठूलो जोखिममा पर्ने गरेका छन्। बजार विश्लेषक अशोकका अनुसार यस्तो गल्तीबाट बच्न कारोबार गर्नुअघि नै नाफा र घाटामा बाहिरिने बिन्दु तय गर्नुपर्छ।
उनका अनुसार कुनै कम्पनीको सेयर खरिद गरेपछि मूल्य घट्दै जाँदा भावनात्मक निर्णय गर्नेभन्दा पनि आफ्नो जोखिम वहन गर्ने क्षमता र पूर्वनिर्धारित रणनीतिअनुसार कारोबार गर्नुपर्छ। सही अवसर नआएसम्म धैर्य गर्न सक्नु र कारोबार गरेपछि योजनाअनुसार अघि बढ्नु सफल ट्रेडिङका आधार हुन्।
उनले कमजोर कम्पनीमा लामो समयसम्म लगानी अड्काउनुभन्दा पोर्टफोलियोको समीक्षा गरी सम्भावना भएका कम्पनीमा लगानी स्थानान्तरण गर्नुपर्ने सुझाव दिए। साथै, सपोर्ट, रेजिस्टेन्स र बजारको ट्रेन्ड बुझेर प्राविधिक विश्लेषणलाई सन्दर्भअनुसार प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
अशोकका अनुसार सेयर बजारमा सफल हुन अरूको टिप्स र भिडियोमा निर्भर हुनुभन्दा आफैँ अध्ययन गर्ने, आफ्नो ज्ञान र सीप विकास गर्ने तथा आवश्यक परे अनुभवी व्यक्तिबाट मार्गदर्शन लिनुपर्छ। बजारमा धैर्यता, अनुशासन र स्पष्ट रणनीति नहुँदा लगानीकर्ताले बारम्बार एउटै गल्ती दोहोर्याउने उनको विश्लेषण छ।

प्रतिकृया