युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार आज (मंसिर ८ गते) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले मंसिर २३ गते बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा ३३औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो ४ः३० बजे सुरु हुनेछ।
सभाले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै लेखापरीक्षक नियुक्ति र सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक योगदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा हालसम्म भएका सम्पूर्ण संशोधन समेटी कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेका तीनवटा दस्तावेजको ढाँचा अद्यावधिक गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गर्नेछ।

प्रतिकृया