भैरहवाबाट हवाई रुट दिन भारत सहमत

Advertisement Ads
भैरहवाबाट हवाई रुट दिन भारत सहमत
Advertisement Ads

नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच हवाई सम्पर्क विस्तार र पारवहन व्यापार सहज बनाउने विषयमा महत्वपूर्ण सहमति भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहको उपस्थितिमा जारी संयुक्त विज्ञप्तिमा बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने उल्लेख छ। यसका लागि आवश्यक प्रक्रिया टुंग्याउन दुवै देशबीच प्राविधिक परामर्श गरिनेछ।

यसैगरी, भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने भएको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहको पहुँचसमेत नेपालले पाउनेछ।

दुवै देशले सीमापार सम्पर्क सञ्जाल र सीमा पूर्वाधार सुधारलाई पनि प्राथमिकता दिएका छन्। यसअन्तर्गत नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइन निर्माणलाई अघि बढाउने सहमति भएको छ।

यस्तो छ संयुक्त विज्ञप्ति

Advertisement Ads

१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण थियो।

२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो। उहाँले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतकी सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नुभयो।

३. भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, साझा चासोका क्षेत्रीय विषय तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए।

४. नेपालमा ठूलो जनधनको क्षति र भौतिक सम्पत्तिको विनाश निम्त्याएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो।

५. प्रधानमन्त्री मोदीले निकट मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो। भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ २४ हजार करोड) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। यसअन्तर्गत नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाका लागि ३ हजार ५ सय करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ५ हजार ६ सय करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका आयोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ १८ हजार ४ सय करोड) बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ। विकास सहायताअन्तर्गत समावेश गरिने विशिष्ट आयोजना तथा सहायता उपलब्ध गराउने प्रक्रियालाई आपसी परामर्शमार्फत अन्तिम रूप दिइनेछ।

६. दुवै नेताले उच्च प्रभाव सामुदायिक विकास आयोजना (एचआईसीडीपी) लगायत नेपालमा विकास आयोजनाहरूको कार्यान्वयनमा भइरहेको निरन्तर प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माणमा भएको प्रगतिलाई पनि उहाँहरूले उल्लेख गर्नुभयो। साथै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणाको दुवै नेताले स्वागत गर्नुभयो।

७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र स्वीकार गर्नुभयो। उक्त संयुक्त दृष्टिकोणपत्रले भारत र नेपालबीचको महत्वाकांक्षी तथा भविष्यकेन्द्रित साझेदारीका लागि मार्गचित्र प्रदान गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलियो रहेका द्विपक्षीय सहकार्यका क्षेत्रलाई विस्तार गर्ने पहल समेटिएका छन्। साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका सम्भावना पनि समेटिएका छन्।

८. दुवै नेताले सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक संलग्नता बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेको छलफललाई उल्लेख गर्नुभयो। दुवै पक्षले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति गरेका छन्। यससम्बन्धी प्रक्रिया अन्तिम रूप दिन तथा दुवै पक्षबीच छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।

९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गर्नुभयो। यसका अतिरिक्त, आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहको पहुँचसमेत उपलब्ध गराइनेछ।

१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) तथा पेट्रोलियम पाइपलाइन स्थापना गरी सीमापार सम्पर्क सञ्जाल सुधार र सीमा पूर्वाधार विस्तार गर्नुको महत्त्वमा जोड दिनुभयो।

११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने पहिलो सरयू-कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गर्नुभयो। यस रेल सेवाले सम्पर्क सञ्जाल सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने र नेपाल तथा भारतबीचको सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउनेछ। नेताहरूले बौद्ध तथा शिवशक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै प्रकारका सम्पर्क सञ्जाल विस्तार गर्ने सम्भावना खोज्ने सहमति गर्नुभयो।

१२. दुवै नेताले प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गर्नुभयो। साथै, नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।

१३. दुवै नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणका लागि भर्चुअल रूपमा शिलान्यास गर्नुभयो। साथै, भैरहवा, सुनौली र दोधारा-चाँदनीमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको प्रगतिको स्वागत गर्नुभयो। नेपाल र भारतबीच तीनवटा एकीकृत जाँच चौकी यसअघि नै सञ्चालनमा रहेका छन्।

१४. दुवै नेताले भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिम नेपालको भारतसँगको प्रत्यक्ष सम्पर्क सुधार गर्न सहयोग पुर्‍याउनेछ।

१५. दुवै नेताले सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। बाँकी रहेका सीमा समस्याहरूमा काम गर्न उहाँहरूले दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिनुभयो।

१६. नेपाल र भारतबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुवै नेताले नेपालमा झापास्थित पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल रूपमा शिलान्यास पनि गर्नुभयो। साथै, सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम चाँडै सुरु गर्नुको महत्त्वमा जोड दिनुभयो। दुवै पक्षले नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावना खोज्ने सहमति गरेका छन्।

१७. नेपाल-भारत विद्युत् क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भइरहेको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। नेपालमा जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय सहभागितालाई दुवै पक्षले स्वागत गरेका छन्। साथै, नेपालमा भारतीय कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत् आयोजनाहरूको निर्माण कार्य शीघ्र सम्पन्न गर्ने सहमति गरेका छन्। यस अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल रूपमा शिलान्यास गर्नुभयो।

१८. दुवै नेताले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र आयोजनाको कार्यान्वयन सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण तथा संयुक्त जलस्रोत समितिलाई निर्देशन दिनुभयो। दुवै नेताले पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि सहमति जनाउनुभयो।

१९. इनरुवा (नेपाल)-नयाँ पूर्णिया (भारत) तथा दोधारा (नेपाल)-बरेली (भारत) बीच दुईवटा उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी कम्पनी (जेभी) गठन गर्ने सम्बन्धमा भइरहेको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।

२०. नेपाललाई भारतले उपलब्ध गराउँदै आएको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोग विस्तार गर्ने क्रममा दुवै नेताले भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति गर्नुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा थप क्षमता विकास गर्नुका साथै रोजगारी सिर्जनालाई पनि प्रवर्द्धन गर्नेछ। दुवै नेताले स्टार्टअप, डिजिटल तथा वित्तीय सम्पर्कलगायत प्रविधिको क्षेत्रमा नेपाल र भारतबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।

२१. एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायतका सेवाहरूमा सहज पहुँच उपलब्ध गराउन पारस्परिक सहजीकरण गर्नुपर्ने आवश्यकतालाई दुवै पक्षले स्वीकार गरेका छन्।

२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्रहरू आदानप्रदान गरिएका छन् :

– भारतको गुजरात, गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यम्बन्धी समझदारीपत्र।

– भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान (एनपीए) बीच समझदारीपत्र।

– भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारीपत्र।

– आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

– दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) सञ्जाल स्थापना गर्ने विषयमा भारत सरकारको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सञ्चार तथा सूचना मन्त्रालयबीच समझदारीपत्र।

– दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

– स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने विषयमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्र।

– पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्नुभयो र औपचारिक रूपमा उहाँलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो। उहाँको भ्रमणको आधिकारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।

२४. नेपाल-भारत साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान तथा समझदारीमा आधारित छ। यसलाई सबै तहमा रहेको बलियो जनस्तरको सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले थप मजबुत बनाएको छ। यस भ्रमणले दुई देशबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणको परम्परालाई पुनः पुष्टि गरेको छ र यसलाई आगामी दिनमा अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पनि दोहोर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स