भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको धार्मिक आस्था र इतिहाससमेत अधुरो रहेको बताएका छन्।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै यस्तो बताएका हुन्।
उनले सन् २०१८ मा जनकपुरको पवित्र भूमिमा आफूले दिएको अभिव्यक्ति स्मरण गर्दै भने, ‘नेपालबिना हाम्रा धाम पनि अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्।’
मोदीले भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा प्रस्तुत गरे।
उनले सन् २०२४ मा अयोध्यामा रामललाको प्राणप्रतिष्ठा भएपछि भारत र विश्वभरबाट करोडौँ श्रद्धालु अयोध्या पुगेको उल्लेख गरे। सन् २०२५ मा मात्रै करिब ३० करोड श्रद्धालुले अयोध्याको भ्रमण गरेको उनको भनाइ थियो।
उनले आज सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवाले अयोध्या र जनकपुरबीचको धार्मिक सम्बन्धलाई थप मजबुत बनाउने बताए। यसले अयोध्या जाने श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न पनि सहज बनाउने उनको भनाइ थियो।
त्यस्तै, लुम्बिनी र बोधगयालगायत दुवै देशका बौद्ध तथा धार्मिक स्थलबीचको सम्पर्क विस्तार गर्न पनि भारत र नेपालले मिलेर काम गर्ने मोदीले बताए।

प्रतिकृया