विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना पुर्याउने उद्देश्यले सरकारले विकास गरेको सेल ब्रोडकास्ट प्रणालीको आज प्रारम्भिक परीक्षण गरिने भएको छ। परीक्षणका क्रममा काठमाडौंका केही क्षेत्रमा रहेका मोबाइल फोनमा चेतावनी ध्वनिसहित सन्देश आउन सक्ने भएकाले नआत्तिन गृह मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार आज २०८३ मंसिर ७ गते साँझ ५:३० बजे काठमाडौंका केही क्षेत्रमा २ जी मोबाइल सञ्जालमार्फत परीक्षण गरिनेछ। गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा यो परीक्षण हुन लागेको हो।
परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्छ। यस्तो सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न मन्त्रालयले अनुरोध गरेको छ।
मोबाइलमा प्राप्त हुने सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ। सन्देशमा स्पष्ट रूपमा ‘यो परीक्षण सन्देश हो’ तथा ‘TEST ALERT’ उल्लेख गरिएको हुनेछ।
परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।
सेल ब्रोडकास्ट प्रणालीमार्फत बाढी, पहिरो, भूकम्पलगायत विपद्को पूर्वसूचना प्रभावित क्षेत्रमा तत्काल पुर्याउन सकिन्छ। यसले विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया