अब नेपालमै पढ्न पाइनेछ आईआईटी, शिक्षा र सीप विकासमा भारतसँग यस्ता भए सहमति

Advertisement Ads
अब नेपालमै पढ्न पाइनेछ आईआईटी, शिक्षा र सीप विकासमा भारतसँग यस्ता भए सहमति
Advertisement Ads

नेपालमा विश्वप्रसिद्ध भारतीय उच्च शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रतिष्ठित भारतीय शैक्षिक संस्थाको शाखा नेपालमा स्थापना गर्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त प्रेस ब्रिफिङका क्रममा नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने घोषणा गरेका थिए।

“नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” मोदीले भनेका थिए।

त्यसपछि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाललाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने विश्वास व्यक्त गरेका थिए। नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले भने, “आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनेछौँ।”

Advertisement Ads

नेपाल सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थालाई नेपालमा क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो। भारतसँग भएको पछिल्लो सहमतिले उक्त नीतिलाई कार्यान्वयनतर्फ अघि बढाएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसलाई विदेशी शैक्षिक संस्थाको एउटा शाखा स्थापना हुने विषयमा मात्र सीमित नराखी नेपालको इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने अवसरका रूपमा व्याख्या गरेका छन्।

“स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो,” मन्त्री पोखरेलले भने, “नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्त्वपूर्ण सुरुवात हो। यसरी नै विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरुसँग पनि सहकार्य हुनेछ।”

छात्रवृत्तिदेखि व्यावसायिक तालिमसम्म सहकार्य

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोणपत्रमा आईआईटी स्थापनाबाहेक शिक्षा र सीप विकाससँग सम्बन्धित अन्य महत्वपूर्ण सहमति पनि समेटिएका छन्।

संयुक्त दृष्टिकोणपत्रअनुसार नेपालका विद्यार्थीका लागि सञ्चालनमा रहेका छात्रवृत्ति योजनालाई विस्तार गरिनेछ। कानुन, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ तथा आधुनिक विषयमा थप छात्रवृत्ति र तालिमका अवसर उपलब्ध गराइनेछ।

त्यस्तै, नेपाल र भारतका शैक्षिक तथा तालिम संस्थाबीचको सहकार्य विस्तार गरिनेछ। यसअन्तर्गत प्राध्यापक तथा विषयविज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन गर्दै संस्थागत गर्ने योजना छ।

नेपाली युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ।

उक्त केन्द्रमार्फत उत्पादन, सेवा र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ।

नालन्दा केन्द्रदेखि कृषि र मेडिकल शिक्षासम्म सहकार्य

नेपाल र भारतबीचको शैक्षिक सहकार्य धार्मिक, कृषि तथा चिकित्सा शिक्षासम्म विस्तार गर्ने सहमति पनि भएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिनेछ। यसले बौद्ध अध्ययन तथा शैक्षिक सहकार्यलाई अघि बढाउनेछ।

त्यस्तै, नेपालमा भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को सेन्टर अफ एक्सिलेन्स स्थापना गरिनेछ। यससँगै नेपाल र भारतका कृषि विश्वविद्यालयबीच सम्बन्ध विस्तार गर्ने योजना छ।

चिकित्सा शिक्षातर्फ दुवै देशका प्रमुख मेडिकल संस्थानबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ।

यसरी प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले नेपालमा उच्च प्राविधिक शिक्षाको विस्तारसँगै छात्रवृत्ति, अनुसन्धान, व्यावसायिक तालिम, कृषि र चिकित्सा शिक्षामा समेत सहकार्यको बाटो खोलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स