नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ४.८५ प्रतिशत नगद लाभांश र ३.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते ३३औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंक सञ्चालक समितिको २०८३ कात्तिक २७ गते बसेको ५५२औँ बैठकले गरेको निर्णयअनुसार साधारण सभा मंसिर २९ गते मंगलबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्नेछ।
बैंकले चुक्ता पुँजीको ४.८५ प्रतिशतका दरले कुल ५४ करोड ९७ लाख ५३ हजार ५३२ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।
त्यस्तै, चुक्ता पुँजीको ३.४० प्रतिशतका दरले ३८ करोड ५३ लाख ९४ हजार २२९ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा सभामा पेस हुनेछ। दुवै प्रस्ताव पारित भएमा सेयरधनीले कुल ८.२५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक आर्थिक विवरण तथा सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने प्रस्ताव पनि सभामा पेस हुनेछ।
बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न आवश्यक सहमति तथा सम्झौता गर्ने र त्यससम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत राखेको छ।
यसका साथै आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्च अनुमोदन गर्ने तथा बोनस सेयर वितरणपछि जारी र चुक्ता पुँजीमा हुने परिवर्तनअनुसार बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा छलफल हुनेछ।
बुक क्लोज तथा सेयरधनी योग्यता
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिन सेयर दाखिल खारेज बन्द गर्ने भएको छ। त्यसैले मंसिर १६ गतेसम्म सेयर कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया