Investor Meet Investor Meet

सुन तोलाको डेढ लाखमा आउने कुरा खासमा के हो ? [भिडियोसहित]

Advertisement Ads
Advertisement Ads

हिरा र सुनलाई बहुमूल्य धातु तथा वस्तुका रूपमा लिइन्छ। तर प्रविधिको विकाससँगै हिरा प्रयोगशालामै उत्पादन हुन थालेको छ। अब वैज्ञानिकहरूले सुनसमेत प्रयोगशालामा बनाउन सकिने प्रविधिमा अनुसन्धान र प्रयोग गरिरहेका छन्।

प्रयोगशालामा हिरा उत्पादन हुन थालेपछि प्राकृतिक हिराको बजारमा प्रतिस्पर्धा बढेको छ। यसको प्रभाव हिराको मूल्यमा समेत देखिन थालेको छ। अब सुन पनि ठूलो परिमाणमा प्रयोगशालामा उत्पादन गर्न सम्भव भयो भने त्यसले सुनको बजार र मूल्यमा कस्तो असर पार्ला भन्ने चासो बढेको छ।

प्रयोगशालामा हिरा उत्पादनको सुरुवात

सन् १९५० अघिसम्म हिरालाई अत्यन्त दुर्लभ प्राकृतिक वस्तुका रूपमा लिइन्थ्यो। पृथ्वीको गहिराइमा अत्यधिक तापक्रम र दबाबका कारण कार्बनबाट हिरा बन्ने कुरा वैज्ञानिकहरूलाई थाहा थियो। त्यसैले यही प्राकृतिक प्रक्रियालाई प्रयोगशालाभित्र दोहोर्‍याएर हिरा बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा अनुसन्धान सुरु भयो।

सन् १९५४ मा अमेरिकी कम्पनी जनरल इलेक्ट्रिक (GE) का वैज्ञानिकहरूले High Pressure, High Temperature अर्थात् HPHT प्रविधिबाट प्रयोगशालामा हिरा बनाउन सफलता प्राप्त गरे।

Advertisement Ads

यस प्रविधिमा कार्बनको एउटा स्वरूप ग्रेफाइटलाई कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ। ग्रेफाइटलाई धातुको उत्प्रेरकसँगै राखेर करिब १३०० देखि १६०० डिग्री सेल्सियस तापक्रम र ५.५ गिगापास्कलसम्मको दबाब दिइन्छ।

५.५ गिगापास्कल दबाब भनेको प्रति वर्ग सेन्टिमिटर क्षेत्रमा करिब ५६ हजार किलोग्राम तौलले थिचे बराबरको दबाब हो। यसरी अत्यधिक तापक्रम र दबाब प्रयोग गरेर ग्रेफाइटमा रहेको कार्बनलाई हिराको क्रिस्टलमा परिणत गरिन्छ।

यो प्रविधिबाट हिरा बनाउन सम्भव भए पनि उत्पादन लागत निकै महँगो थियो। त्यसबेलाको उत्पादन लागतअनुसार एक क्यारेट हिरा बनाउन करिब २० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने बताइन्छ। त्यसैले गहनामा प्रयोग हुने हिरा ठूलो परिमाणमा व्यावसायिक रूपमा उत्पादन गर्न यो प्रविधि आर्थिक रूपमा सहज थिएन।

CVD प्रविधिले बदल्यो हिरा उत्पादनको बजार

हिरा उत्पादनमा वास्तविक परिवर्तन CVD अर्थात् Chemical Vapor Deposition प्रविधिले ल्यायो।

यस प्रविधिमा एउटा सानो हिराको टुक्रालाई बीउ अर्थात् Seed का रूपमा प्रयोग गरिन्छ। त्यसलाई विशेष च्याम्बरभित्र राखेर मिथेन र हाइड्रोजन ग्यास पठाइन्छ। त्यसपछि विशेष ऊर्जाको माध्यमबाट ग्यासलाई सक्रिय बनाइन्छ।

मिथेन ग्यासमा रहेको कार्बन छुट्टिएर सानो हिराको बीउमाथि एकपछि अर्को तहका रूपमा जम्मा हुन थाल्छ। यसरी विस्तारै हिराको क्रिस्टलको आकार बढ्दै जान्छ र प्रयोगशालामै नयाँ हिरा तयार हुन्छ।

सन् २००३ मा अमेरिकी कम्पनी Apollo Diamond ले CVD प्रविधिबाट गहनामा प्रयोग गर्न मिल्ने गुणस्तरको हिरा उत्पादन गरेको सार्वजनिक गर्‍यो। यसले प्रयोगशालामा बनेका हिरा पनि प्राकृतिक हिराजस्तै गहनामा प्रयोग गर्न सकिने सम्भावना देखायो।

त्यसपछि सन् २०१२ तिर यस्ता हिरा गहनाको बजारमा व्यावसायिक रूपमा आउन थाले। तर यसको बजार विस्तारले वास्तविक गति भने सन् २०१५ पछि लियो। उत्पादन प्रविधिमा सुधार भयो, हिराको आकार र गुणस्तर बढ्यो तथा उत्पादन लागत घट्दै गयो।

प्रयोगशालामा बनेका हिरा र प्राकृतिक हिरा नाङ्गो आँखाले हेरेर छुट्याउन सकिँदैन। दुवैको रासायनिक संरचना र भौतिक गुण लगभग समान हुन्छन्। तर विशेष उपकरण र परीक्षण विधिबाट भने कुन प्राकृतिक हो र कुन प्रयोगशालामा बनेको हो भनेर पहिचान गर्न सकिन्छ।

प्रयोगशालामा हिरा उत्पादन हुन थालेपछि प्राकृतिक हिराको बजारमा पनि प्रतिस्पर्धा बढ्यो। प्राकृतिक हिराको मूल्य घट्नुका पछाडि अन्य बजारगत कारण पनि छन्। तर प्रयोगशालामा बनेका हिराले प्राकृतिक हिराको विकल्प उपलब्ध गराएपछि यसको बजारमा थप प्रतिस्पर्धा सिर्जना भएको छ।

आज पनि प्रयोगशालामा बनेका हिराभन्दा प्राकृतिक हिरा महँगा छन्। तर प्रयोगशालामा हिरा बनाउने प्रविधिको विकास नभएको भए प्राकृतिक हिराको मूल्य अझै धेरै माथि पुग्न सक्ने थियो।

प्रयोगशालामा बनेका हिराको मूल्य तीव्र रूपमा घट्यो

यसलाई दुईवटा तथ्यांकबाट बुझ्न सकिन्छ। पहिलो, सन् १९७१ देखि १९८० सम्म प्राकृतिक हिराको मूल्यमा आएको परिवर्तन र दोस्रो, सन् २०१६ देखि २०२५ सम्म प्राकृतिक तथा प्रयोगशालामा बनेका हिराको मूल्यमा आएको परिवर्तन।

सन् १९७१ मा एक क्यारेट उत्कृष्ट गुणस्तरको प्राकृतिक हिराको मूल्य १ हजार ६५० अमेरिकी डलर थियो। यो मूल्य बढ्दै सन् १९८० मा ६० हजार अमेरिकी डलरसम्म पुगेको थियो।

त्यतिबेला प्रयोगशालामा हिरा बनाउने प्रविधि विकास भइसकेको भए पनि गहनामा प्रयोग गर्न मिल्ने हिराको ठूलो परिमाणमा व्यावसायिक उत्पादन हुन सकेको थिएन।

पछिल्लो तथ्यांकअनुसार सन् २०१६ मा एक क्यारेट प्राकृतिक हिराको मूल्य ६ हजार ५३८ अमेरिकी डलर थियो भने प्रयोगशालामा बनेको हिराको मूल्य ५ हजार ४५० डलर थियो।

तर सन् २०२५ सम्म आइपुग्दा प्राकृतिक हिराको मूल्य घटेर ३ हजार ८९५ डलरमा झरेको छ। प्रयोगशालामा बनेको हिराको मूल्य भने अझ तीव्र रूपमा घटेर ८४५ डलरमा आइपुगेको छ।

प्रयोगशालामा बनेका हिराको मूल्य घट्नुका मुख्य कारण प्रविधिमा सुधार, उत्पादन क्षमता वृद्धि र बजारमा बढेको प्रतिस्पर्धा हुन्।

पहिले हिरा उत्पादन गर्न धेरै समय र खर्च लाग्थ्यो। अहिले प्रविधिको विकाससँगै कम लागतमा ठूलो परिमाणमा हिरा उत्पादन गर्न सम्भव भएको छ। नयाँ कम्पनीहरू पनि यस क्षेत्रमा प्रवेश गरेका छन्। परिणामस्वरूप प्रयोगशालामा बनेका हिराको मूल्य निरन्तर घट्दै गएको छ।

के हिराजस्तै सुन पनि प्रयोगशालामा बनाउन सकिन्छ ?

यसको उत्तर हो, सकिन्छ।

रोचक कुरा के छ भने प्रयोगशालामा सुन बनाउने प्रयास आजभन्दा करिब २ हजार वर्षअघि नै सुरु भएको थियो। त्यतिबेलाका रसायनशास्त्रीहरू तामा, पारो अर्थात् Mercury र सिसाजस्ता धातुलाई विभिन्न रासायनिक प्रक्रियाबाट सुनमा परिणत गर्न सकिन्छ भन्ने विश्वास गर्थे।

उनीहरू साधारण धातुलाई सुनमा परिणत गर्ने रहस्यको खोजीमा थिए। यही प्रयासलाई Alchemy भनिन्थ्यो। तर शताब्दीयौँसम्म गरिएका यस्ता प्रयासबाट कसैले पनि सुन बनाउन सकेनन्।

यसको मुख्य कारण हिरा र सुन बन्ने प्रक्रिया फरक हुनु हो। हिरा कार्बनबाट बनेको हुन्छ। त्यसैले कार्बनको संरचना परिवर्तन गरेर हिरा बनाउन सम्भव भयो।

तर सुन आफैँमा एउटा रासायनिक तत्व हो। Periodic Table मा सुनको Symbol Au र Atomic Number ७९ हुन्छ।

सुनको Atomic Number ७९ हुनुको अर्थ यसको प्रत्येक परमाणुको केन्द्रकमा ७९ वटा प्रोटोन हुन्छन्। कुनै पनि तत्वको पहिचान त्यसको केन्द्रकमा रहेको प्रोटोनको संख्याले निर्धारण गर्छ।

त्यसैले सुन बनाउन तामा, पारा वा सिसालाई तताएर, पगालेर वा रासायनिक प्रतिक्रिया गराएर मात्र पुग्दैन। ती तत्वको परमाणु केन्द्रक नै परिवर्तन गर्नुपर्छ। अर्थात् परमाणुको केन्द्रकमा रहेको प्रोटोनको संख्या परिवर्तन गर्नुपर्छ।

यही कारणले हिरा बनाउन प्रयोग भएको प्रविधि र सुन बनाउन आवश्यक पर्ने प्रविधि बिल्कुलै फरक छन्।

वैज्ञानिकहरूले सिसाबाट पनि बनाए सुन

सुन बनाउन सकिँदैन भन्ने होइन। आधुनिक विज्ञानले परमाणुको केन्द्रक नै परिवर्तन गरेर एउटा तत्वलाई अर्को तत्वमा परिणत गर्न सक्छ। यस प्रक्रियालाई Nuclear Transmutation भनिन्छ।

यसको एउटा उदाहरण सन् २०२५ मा देखियो। युरोपेली आणविक अनुसन्धान संस्था CERN ले सिसाबाट सुन बनेको प्रक्रिया सफलतापूर्वक मापन गर्‍यो।

CERN का वैज्ञानिकहरूले सिसाका परमाणुलाई प्रकाशको गतिनजिकको गतिमा एकअर्काको नजिकबाट हिँडाए। यस क्रममा उत्पन्न भएको अत्यधिक ऊर्जाले सिसाको परमाणुबाट केही प्रोटोन बाहिर निकाल्यो।

सिसामा ८२ वटा प्रोटोन हुन्छन् भने सुनमा ७९ वटा मात्र हुन्छन्। जब सिसाको परमाणुबाट तीनवटा प्रोटोन हटे, त्यो सुनको परमाणुमा परिणत भयो।

यसरी वैज्ञानिकहरूले सिसाबाट सुन त बनाए, तर त्यसको परिमाण अत्यन्तै सानो थियो। CERN को सन् २०१५ देखि २०१८ सम्मको प्रयोगसम्बन्धी तथ्यांकअनुसार बनेको सुनको कुल तौल जम्मा २९ पिकोग्राम थियो। यो एक ग्रामको करिब ३४ अर्ब भागको एक भाग मात्र हो।

त्यसैले यो प्रविधिबाट सुन बनाएर व्यावसायिक रूपमा बिक्री गर्न सम्भव छैन। यसले प्रयोगशालामा सुन बनाउन सकिन्छ भन्ने कुरा मात्र प्रमाणित गरेको हो।

Marathon Fusion को पाराबाट सुन बनाउने योजना

सुन बनाउने अनुसन्धान त्यतिमै रोकिएन। सन् २०२५ मा अमेरिकाको Marathon Fusion नामको स्टार्टअप कम्पनीले पारा अर्थात् Mercury बाट सुन बनाउन सकिने प्रविधिबारे अनुसन्धान सार्वजनिक गर्‍यो।

तर Marathon Fusion कम्पनी सुन बनाउनकै लागि स्थापना भएको होइन। यसको मुख्य उद्देश्य Nuclear Fusion प्रविधिको प्रयोग गरेर ठूलो परिमाणमा विद्युत् उत्पादन गर्नु हो।

Nuclear Fusion भनेको दुईवटा हलुका परमाणुका केन्द्रक आपसमा मिलेर एउटा गह्रौँ केन्द्रक बन्ने प्रक्रिया हो। यही प्रक्रियाबाट सूर्यले ऊर्जा उत्पादन गर्छ। वैज्ञानिक र कम्पनीहरू यही प्रविधिबाट पृथ्वीमा पनि ठूलो परिमाणमा स्वच्छ ऊर्जा उत्पादन गर्ने प्रयासमा छन्।

तर यस्तो प्रविधि विकास गर्न ठूलो लगानी चाहिन्छ। विद्युत् उत्पादनलाई आर्थिक रूपमा प्रतिस्पर्धी बनाउनु पनि चुनौतीपूर्ण छ।

यही चुनौतीलाई अवसरमा बदल्ने सोच Marathon Fusion ले अघि सारेको हो। कम्पनीले Nuclear Fusion बाट विद्युत् उत्पादन गर्दा निस्कने शक्तिशाली न्युट्रोन प्रयोग गरेर पारोबाट सुन उत्पादन गर्न सकिने अवधारणा ल्याएको छ।

पारो के हो भन्ने लाग्न सक्छ। पुरानो थर्मोमिटरमा प्रयोग हुने तरल पदार्थ नै पारो अर्थात् मर्करी हो।

यस प्रक्रियामा पाराको परमाणुमा हुने परिवर्तनका कारण एउटा प्रोटोन कम हुन्छ। पारामा ८० वटा प्रोटोन हुन्छन् भने सुनमा ७९ वटा हुन्छन्। यसरी पाराको परमाणु परिवर्तन भएर सुनको परमाणु बन्न सक्छ।

कम्पनीले आफ्नो अनुसन्धानमा यस्तो प्रविधि भविष्यमा सफलतापूर्वक प्रयोग गर्न सके एउटा गिगावाट थर्मल क्षमताको Nuclear Fusion प्लान्टबाट वर्षमा करिब २ टनसम्म सुन उत्पादन गर्न सकिने अनुमान गरेको थियो। तर यो वास्तविक उत्पादन नभई कम्प्युटरमा गरिएको सिमुलेसनमा आधारित अनुमान थियो।

अर्थात् एउटै प्रविधिबाट विद्युत् पनि उत्पादन गर्ने र त्यही प्रक्रियाबाट सुन पनि बनाउने कम्पनीको सोच हो। विद्युत् बिक्रीबाट हुने आम्दानीका अतिरिक्त सुन बिक्रीबाट पनि आम्दानी गर्न सकियो भने Nuclear Fusion प्रविधिको व्यवसाय थप आकर्षक बन्न सक्छ भन्ने कम्पनीको अवधारणा छ।

त्यसपछि सन् २०२६ अक्टोबर २१ मा Marathon Fusion ले आफूहरूले पाराबाट सुन उत्पादन गर्ने प्रयोग गरेको घोषणा गर्‍यो। कम्पनीका अनुसार उनीहरूले गरेको प्रयोगमा सुन उत्पादनको दर CERN को सन् २०२५ को प्रयोगभन्दा १० गुणा बढी थियो।

तर कम्पनीले कति सुन उत्पादन गर्‍यो, त्यसको उत्पादन लागत कति पर्छ र ठूलो परिमाणमा उत्पादन गर्न सम्भव छ कि छैन भन्ने विस्तृत विवरण अझै सार्वजनिक गरेको छैन। कम्पनीको दाबी स्वतन्त्र वैज्ञानिक परीक्षणबाट पनि पुष्टि हुन बाँकी छ।

अब सुनको मूल्य घट्ला त ?

प्रयोगशालामा सुन बनाउन सम्भव भए पनि व्यावसायिक रूपमा उत्पादन गर्न सकिने अवस्था अझै आइसकेको छैन। अहिले यो अनुसन्धान र प्रयोगकै चरणमा छ।

भविष्यमा प्रयोगशालामा साँच्चिकै सुन उत्पादन हुन सक्ला। तर त्यसका लागि अझै २०–२५ वर्ष वा त्योभन्दा बढी समय पनि लाग्न सक्छ। किनभने सस्तो मूल्यमा ठूलो परिमाणमा सुन उत्पादन गर्नु आफैँमा निकै चुनौतीपूर्ण काम हो।

यदि भविष्यमा सस्तो मूल्यमा ठूलो परिमाणमा सुन उत्पादन हुन थाल्यो भने स्वाभाविक रूपमा सुनको मूल्यमा दबाब पर्न सक्छ। जसरी प्रयोगशालामा हिरा उत्पादन हुन थालेपछि प्राकृतिक हिराको मूल्यमा असर परेको छ, सुनको बजारमा पनि त्यस्तै प्रभाव पर्न सक्छ।

तर हिरा र सुनबीच एउटा महत्त्वपूर्ण फरक छ। हिरा प्राकृतिक रूपमा बनेको हो वा प्रयोगशालामा बनेको हो भनेर विशेष उपकरणको सहायताले छुट्याउन सकिन्छ। त्यसैले प्राकृतिक हिरा र प्रयोगशालामा बनेका हिराको बजार मूल्य पनि फरक हुन्छ।

सुनको हकमा भने त्यस्तो हुँदैन। प्रयोगशालामा बनेको सुन र खानीबाट निकालिएको सुनको परमाणु संरचना एउटै हुन्छ। दुवै वास्तविक सुन नै हुन्। त्यसैले प्रयोगशालामा बनेको सुन र खानीबाट निकालिएको सुनलाई छुट्याउन सकिँदैन।

यसको अर्थ, भविष्यमा प्रयोगशालामा सस्तो मूल्यमा ठूलो परिमाणमा सुन उत्पादन हुन थाल्यो भने प्रयोगशालामा बनेको सुन मात्र सस्तो हुने होइन। बजारमा सुनको समग्र आपूर्ति बढ्ने भएकाले प्राकृतिक रूपमा खानीबाट निकालिएको सुनसहित समग्र सुनकै मूल्य घट्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स