Investor Meet Investor Meet

करार कर्मचारीदेखि अस्थायी शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

Advertisement Ads
करार कर्मचारीदेखि अस्थायी शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी
Advertisement Ads

सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको तयारी छ।

नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको उल्लेख गरिन्।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालिएको छ।

त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन सङ्घीय सरकारले सह-योगदान गर्ने व्यवस्था अघि बढाएको छ। स्थानीय तहको सहयोगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको सह-योगदान सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिइन्।

सरकारले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्म सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्य रहेको मन्त्री बादीको भनाइ छ।

Advertisement Ads

सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निकाय तथा क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत तथा समन्वय गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याइन्।

सामाजिक सुरक्षा कार्यक्रमको सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउने तथा कोषको संस्थागत क्षमता विकास गर्ने सरकारको प्राथमिकता रहेको उनले बताइन्।

त्यस्तै, सामाजिक सुरक्षा प्रणालीको दिगो सञ्चालनका लागि सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय संयन्त्रलाई थप सुदृढ बनाउने सरकारको योजना छ। नीति निर्माणदेखि कार्यान्वयनसम्म तीनै पक्षको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै कोषको सञ्चालक समितिलाई थप सक्षम र प्रतिनिधिमूलक बनाउने तथा वास्तविक श्रमिक र रोजगारदाताको प्रतिनिधित्व सुनिश्चित गर्ने काम अघि बढाइएको मन्त्री बादीले जानकारी दिइन्।

सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ। सुरक्षित श्रमिकले आत्मविश्वासका साथ काम गर्न सक्ने र त्यसले उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग पुग्ने उनले उल्लेख गरिन्।

हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोडभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोडभन्दा बढी दाबी भुक्तानी भइसकेको छ।

नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गर्नुपर्ने बताइन्।

सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालगायत लक्षित समूहलाई गैरयोगदानमूलक सामाजिक सुरक्षामार्फत संरक्षण गर्ने नीति लिएको छ। रोजगारीमा रहेका तथा योगदान गर्न सक्ने नागरिकलाई भने योगदानमा आधारित प्रणालीमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको योजना छ।

त्यसैगरी, कोषमा सङ्कलित रकमलाई सुरक्षित तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी गरी दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्नुपर्नेमा मन्त्री बादीले जोड दिइन्। सामाजिक सुरक्षा कोषलाई सबै श्रमजीवी नागरिकको अधिकार, संरक्षण र सुरक्षित भविष्यको भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स