काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुर महानगरपालिका–१५ स्थित भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका पाँचवटा विकसित घडेरी बिक्री गर्ने भएको छ। प्राधिकरणअन्तर्गत जिल्ला आयुक्तको कार्यालय, ललितपुरले घडेरी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
रिङरोड तथा सातदोबाटोबाट करिब एक किलोमिटर दूरीमा रहेका यी घडेरीमा ६ मिटर र ८ मिटर चौडाइका सडकको पहुँच छ। बिक्रीमा राखिएका घडेरीको क्षेत्रफल ९६.४९ देखि १३२.२४ वर्गमिटरसम्म रहेको छ।
आयोजनाले घडेरीको न्यूनतम मूल्य प्रतिआना ३५ लाख ९३ हजार ७०० रुपैयाँदेखि ३९ लाख ९३ हजार रुपैयाँसम्म निर्धारण गरेको छ। त्यस्तै, प्रतिवर्गमिटर न्यूनतम मूल्य १ लाख १३ हजार ४४ रुपैयाँ ९८ पैसादेखि १ लाख २५ हजार ६०५ रुपैयाँ ५४ पैसासम्म तोकिएको छ।
बिक्रीमा राखिएका पाँच घडेरीमध्ये ब्लक एपीको प्लट नम्बर ११ को क्षेत्रफल १३२.२४ वर्गमिटर र न्यूनतम कुल मूल्य १ करोड ६६ लाख १० हजार ७६ रुपैयाँ १२ पैसा छ। ब्लक यूको प्लट नम्बर ३ को क्षेत्रफल १०९.८६ वर्गमिटर र न्यूनतम मूल्य १ करोड ३७ लाख ९९ हजार २४ रुपैयाँ ६२ पैसा तोकिएको छ।
त्यस्तै, ब्लक यूकै प्लट नम्बर 5a को क्षेत्रफल ९६.४९ वर्गमिटर र न्यूनतम मूल्य १ करोड ९ लाख ७ हजार ७१० रुपैयाँ ३८ पैसा छ। सोही ब्लकको प्लट नम्बर ५ को क्षेत्रफल ९७.२३ वर्गमिटर र न्यूनतम मूल्य १ करोड ९ लाख ९१ हजार ३६३ रुपैयाँ ६७ पैसा रहेको छ। ब्लक एसको प्लट नम्बर १० को क्षेत्रफल १०३.३९ वर्गमिटर र न्यूनतम मूल्य १ करोड १६ लाख ८७ हजार ७२० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
घडेरी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र फारामका लागि ३ हजार रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम फिर्ता हुने छैन। बोलपत्रदाताले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशत बराबर धरौटीसमेत जम्मा गर्नुपर्नेछ।
धरौटी रकम नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पाटन शाखामा रहेको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको खाता नम्बर २१००१०५०००१८५४ वा सानिमा बैंकको कुमारीपाटी शाखामा रहेको खाता नम्बर ००५०१००१००००९०६ मा जम्मा गर्नुपर्नेछ।
बोलपत्र फाराम २०८३ पुस १ गतेभित्र आयोजनाको कार्यालयबाट खरिद गर्न सकिनेछ। आवश्यक कागजात र धरौटी जम्मा गरेको सक्कल भौचरसहितको गोप्य शिलबन्दी बोलपत्र पुस २ गते दिउँसो १२ बजेसम्म आयोजनाको साइट कार्यालयमा बुझाइसक्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ।
बोलपत्र दर्ता तथा खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन सोही समयमा प्रक्रिया अघि बढाइनेछ। प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार आयोजनामा निहित रहने सूचनामा उल्लेख छ। यससम्बन्धी थप जानकारीका लागि आयोजनाको साइट कार्यालयको सम्पर्क नम्बर ०१–५९१३८२८ मा सम्पर्क गर्न सकिनेछ।


प्रतिकृया