कामना सेवा विकास बैंक, विजय लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले कुल ३७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्। तीनवटै संस्थाले फरक–फरक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका हुन्।
कामना सेवा विकास बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ। सेयर बिक्रीका लागि निवेदन प्राप्त भएपछि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएको छ।
बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीले सूचना पहिलोपटक प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाणसहित आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट खुलाएर बैंकको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य खरिदकर्तालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनी खेमानन्द ज्ञवालीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। संस्थाले उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएको छ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ। तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।
यसैगरी, स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनी सुचित्रा पन्त शाहको नाममा रहेको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि समेत सेयर बिक्री खुला गरेको हो।
संस्थाले उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित लिखित निवेदन पेस गर्न आह्वान गरेको छ।

प्रतिकृया