मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसहित पुस ४ गते २१औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंक सञ्चालक समितिको २०८३ मंसिर ८ गते बसेको २७७औँ बैठकले उक्त लाभांश प्रस्तावसहित साधारण सभा गर्ने निर्णय गरेको हो। सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान १० बजे सुरु हुनेछ।
बैंकको हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयरबापत ६ करोड ८ लाख ५५ हजार रुपैयाँ र ६ प्रतिशत नगद लाभांशबापत ७ करोड ३० लाख २६ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।
उक्त लाभांश प्रस्ताव साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र नाफा–नोक्सान हिसाब पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल हुनेछ।
त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।
बैंकले आफ्नो अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अघि सारेको छ। यसका लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
यसैगरी, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने प्रक्रिया अघि बढाउन सञ्चालक समिति तथा मर्जर समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ। मर्जरका क्रममा सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव छ।
सभामा आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च अनुमोदन गर्ने प्रस्तावसमेत पेस हुनेछ।
बुक क्लोज
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म सेयर दाखिल खारेज बन्द अर्थात् बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार मंसिर १५ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्।

प्रतिकृया