आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।
कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले मंसिर १० गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम म्याद मंसिर १८ गते कार्यालय समयसम्म तोकिएको छ।
कम्पनीले उक्त सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २२५ रुपैयाँ निर्धारण गरेको छ। तर बोलपत्र पेश गर्दा सेयरको बजार मूल्यको ५० प्रतिशत र २२५ रुपैयाँमध्ये जुन कम हुन्छ, सोही मूल्य वा त्यसभन्दा बढी मूल्य प्रस्ताव गर्नुपर्नेछ।
यहाँ बजार मूल्य भन्नाले सेयर कारोबार भएको दिनको भारित औसत कारोबार मूल्यलाई बुझिनेछ। उक्त दिन कारोबार नभएको अवस्थामा त्यसअघिल्लो कारोबार दिनको भारित औसत मूल्यलाई आधार मानिने कम्पनीले जनाएको छ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने बिक्रीमा राखिएको सम्पूर्ण ६२ हजार ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
आवेदन दिँदा १० ले भाग जाने कित्तामा मात्र बोलपत्र पेश गर्नुपर्नेछ। दशमलवमा आउने वा खण्डित कित्ताका लागि आवेदन दिन पाइने छैन।
यस सेयर खरिदका लागि आवश्यक शिलबन्दी बोलपत्र आवेदन फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा उपलब्ध हुनेछ। लगानीकर्ताले भरिएको बोलपत्र पनि मंसिर १८ गते कार्यालय समयभित्र सोही कार्यालयमा बुझाइसक्नुपर्नेछ।
यस सेयरको बिक्री तथा लिलामी प्रक्रियाको व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिकृया