श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावसहित संस्थाले मंसिर १२ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ।
संस्थाको सञ्चालक समितिको २०८३ कात्तिक १९ गते बसेको १४६औँ बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभा सिराहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित श्रृजना सामुदायिक सेवा समितिको भवनमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पेस हुनेछ।
यसअन्तर्गत उपयुक्त संस्था पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिन निवेदन दिने तथा सम्पत्ति र दायित्वको मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट) गराउनेलगायतका काम गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव छ।
त्यस्तै, परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने र उनीहरूको पारिश्रमिक निर्धारण गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव गरिएको छ। अन्य वित्तीय संस्थाका शाखा खरिद तथा प्राप्ति गर्ने विषयसमेत यस प्रस्तावमा समेटिएको छ।
सभामा संस्थाको संशोधित नीति, नियमावली तथा नयाँ कार्यविधि पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायत नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन आएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र नाफा–नोक्सान हिसाब पारित गर्ने प्रस्ताव सभामा पेस हुनेछ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र रिक्त रहेको सञ्चालक पदमा संस्थापक तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचन वा मनोनयन गर्ने प्रस्ताव पनि अघि सारेको छ।
सेयर दाखिल खारेज बन्द
साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १ गते एक दिन सेयर दाखिल खारेज बन्द गरिसकेको छ।
त्यसअनुसार मंसिर ३० गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानुनबमोजिम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा रहेको सेयरधनी दर्ता किताबमा कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन्।

प्रतिकृया