नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८२/८३ मा १२.१६ प्रतिशतमा सीमित भएको हो।
सरकारले चालु वर्ष विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लक्ष्यभन्दा कम अर्थात् १२.१६ प्रतिशतमा चुहावट झार्न सफल भएको जनाएको छ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठको नेतृत्वमा चुहावट नियन्त्रणका लागि नीतिगत तथा संरचनागत सुधार, दक्ष प्राविधिक जनशक्तिको परिचालन र व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।
चुहावट नियन्त्रणका लागि विद्युत् नेटवर्कको स्तरोन्नति, समयमै मर्मतसम्भार तथा प्राविधिक समस्याको तत्काल समाधानमा जोड दिइएको छ। प्राविधिक समस्या देखिएलगत्तै प्रतिक्रिया दिने व्यवस्थाले पनि चुहावट घटाउन सहयोग पुगेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनसम्बन्धी समस्याका कारण विद्युत् चुहावट हुने गर्छ। यस्ता समस्या न्यूनीकरण गर्न प्राविधिक पक्ष र व्यवस्थापनलाई थप चुस्त बनाइएको मन्त्री श्रेष्ठले बताएका छन्।
ऊर्जा मन्त्रालयले आगामी दिनमा पनि विद्युत् चुहावट घटाउन प्राविधिक सुधार र व्यवस्थापनलाई तीव्रता दिने जनाएको छ।
अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ। यस आधारमा नेपालको चुहावट दर क्षेत्रीय औसतभन्दा कम देखिएको छ।

प्रतिकृया