कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको हो।
कम्पनीले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि ८ लाख कित्ता सेयर छुट्याएको छ। यस समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले छिटोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि ढिलोमा पुस १३ गतेसम्म लम्बिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर निष्काशन गरिएको छ। यस समूहमा आवेदन दिन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति मंसिर १५ गते तोकिएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत कात्तिक १९ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामबापत स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।
आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।

प्रतिकृया