नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीबीच स्टक एक्सचेन्जको पुनर्संरचना तथा दोस्रो बजार सुधारका विषयमा छलफल भएको छ।
बोर्डको कार्यालयमा असोज २९ गते भएको छलफलमा नेप्से पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२ को प्रतिवेदन कार्यान्वयन, संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति तथा कारोबार प्रणालीमा सुधार गर्ने विषयमा चर्चा भएको हो।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आधुनिक स्टक एक्सचेन्जका लागि पूँजी, दक्ष जनशक्ति र सूचना प्रविधि पूर्वाधार आवश्यक रहेको बताए। उनले नेप्सेको पूँजी तथा स्वामित्व पुनर्संरचना र दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन सुधारसँग सम्बन्धित ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गर्दै काम अघि बढाइने जानकारी दिए।
त्यस्तै, नेप्से सञ्चालक समितिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लेख भएका तत्काल कार्यान्वयन गर्न सकिने विषयमा नेप्से केन्द्रित रहेको बताए। उनले प्रविधि, संस्थागत सुशासन, लगानीका उपकरण तथा सेवामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी सुझाव कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापन प्रभावकारी बनाउने विषयमा प्रस्तुतीकरण गरेका थिए।
नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनबाट लगानीका विकल्प विस्तार, कारोबार प्रणालीको विश्वसनीयता वृद्धि तथा पुँजी बजारमा पारदर्शिता सुदृढ हुने बोर्डको अपेक्षा छ।

प्रतिकृया