विशाल बजार कम्पनीमा जम्मा ४ लाख १८ हजार कित्ता मात्रै सर्वसाधारण सेयर रहेको छ। त्यसमध्ये पनि केही हजार कित्ता सेयर मात्रै दोस्रो बजारमा कारोबारमा आउने गरेको छ। कम्पनीको कुल सेयरमध्ये ३ करोड ९६ लाख कित्ता अर्थात् ९८.९६ प्रतिशत सेयर सरकारको स्वामित्वमा छ, जुन दोस्रो बजारमा कारोबारमा आउँदैन।
तर, नेप्सेको अहिलेको सूचक गणना पद्धतिअनुसार कारोबारमा आउन नसक्ने सरकारको स्वामित्वमा रहेको उक्त सेयरको भारसमेत सूचक गणनामा समावेश हुने गरेको छ। यही कारण विशाल बजार कम्पनी नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी बजार पुँजीकरण भएको कम्पनी बनेको छ।
यसले गर्दा विशाल बजारको सेयर मूल्यमा आउने सामान्य उतारचढावले समेत नेप्से सूचकमा ठूलो प्रभाव पार्ने गरेको छ। विशाल बजारको सेयर मूल्यमा हुने परिवर्तनले क्षणभरमै नेप्से सूचकलाई हरियोबाट रातो र रातोबाट हरियो बनाउने अवस्था सिर्जना भएको छ।
तर, अब विशाल बजारजस्ता सर्वसाधारणको हातमा थोरै मात्रै सेयर रहेका तर कारोबारमा नआउने प्रमोटर सेयरको हिस्सा ठूलो भएका कम्पनीहरूको सेयर मूल्यमा हुने उतारचढावले नेप्से सूचक नचाउने दिनको अन्त्य हुँदैछ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल प्रयोग गर्दै आएको नेप्से परिसूचकको विकल्पमा नयाँ ‘नेप्से बेन्चमार्क इन्डेक्स’ ल्याउने तयारी गरेको छ। नयाँ सूचकले बजारमा सूचीकृत सबै कम्पनीको मूल्य परिवर्तनलाई मात्र आधार नबनाई वास्तविक कारोबारमा रहेका सेयर र कम्पनीको अवस्थालाई समेत समेट्नेछ।
अर्थ मन्त्रालयले भदौ २९ गते जारी गरेको ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा मंसिर मसान्तभित्र नयाँ सूचक प्रयोगमा ल्याउने उल्लेख गरेको थियो। सोही योजनाअनुसार नेप्सेले नयाँ सूचकको अवधारणा तयार गर्ने र आवश्यक तथ्यांक संकलन गर्ने काम गरिरहेको छ। संकलित तथ्यांकका आधारमा सूचकको परीक्षण गरेपछि कार्यान्वयनका लागि नेप्से सञ्चालक समितिमा प्रस्ताव लैजाने तयारी छ।
हालको नेप्से परिसूचकले बजारमा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरणका आधारमा बजारको उतारचढाव देखाउँछ। यसमा संस्थापक सेयर, सरकारी स्वामित्वका सेयर र सर्वसाधारणले कारोबार गर्न नसक्ने अन्य सेयरसमेत गणना हुन्छन्।
यसले गर्दा बजारमा कारोबार नै नहुने वा सीमित कारोबार हुने सेयरको मूल्य परिवर्तनले समेत समग्र परिसूचकमा प्रभाव पार्छ। यही कारण नेप्से परिसूचकले बजारको वास्तविक अवस्था प्रतिनिधित्व नगरेको भन्दै लगानीकर्ताले लामो समयदेखि प्रश्न उठाउँदै आएका छन्।
नयाँ सूचकबाट कुन-कुन सेयर हट्नेछन्?
नयाँ सूचकमा सबै सूचीकृत सेयर समावेश हुने छैनन्। वास्तविक कारोबारमा उपलब्ध नभएका सेयरलाई गणनाबाट हटाउने प्रस्ताव गरिएको छ।
यसमा चार प्रकारका सेयरलाई गणनामा समावेश गरिने छैन।
कम्पनीका संस्थापक सेयर।
सरकारी स्वामित्वमा रहेका सेयर।
एउटा संस्थाले अर्को संस्थामा गरेको सेयर लगानी।
लकिङ अवधि नसकिएका स्थानीय बासिन्दा तथा कम्पनीका कर्मचारीका नाममा रहेका सेयर।

प्रतिकृया