एघारौँ संस्करणको आइसिटी अवार्ड २०२६ अन्तर्गत चार विधाका उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक भएका छन्। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधाका उत्कृष्ट ५ घोषणा गरिएको हो।
यस वर्ष चार विधामा ४०० भन्दा बढी नोमिनेसन प्राप्त भएका थिए। उत्कृष्ट ५ छनोटका लागि मंसिर ५ र ६ गते ग्रान्ड जुरी सेसन सञ्चालन गरिएको थियो। सेमिफाइनलमा पुगेका प्रतिस्पर्धीहरूले १४ जना विज्ञ जुरीसमक्ष आफ्ना स्टार्टअप, इन्नोभेसन र परियोजनाबारे प्रस्तुति दिएका थिए। उनीहरू स्पिड डेटिङमा पनि सहभागी भएका थिए।
स्टार्टअप आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ मा एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., गरुडएक्स मल्टिपर्पज प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि. र योद्धा ल्याब प्रा. लि. परेका छन्।
त्यस्तै, प्रडक्ट विधामा बाइटआउट, सेन्ट्रोनिक्स, एक्साना, वानबीएनपीएल र पीडीएफमर्जेली उत्कृष्ट ५ मा छनोट भएका छन्।
राइजिङ स्टार इन्नोभेसन विधामा इभोमो, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, सिन्याप्टिक र ट्राफिक आई उत्कृष्ट ५ मा परेका छन्। सोसल इन्नोभेसन विधामा भने बरबर्दिया एग्रो–मेट्रोलोजिकल मेसेज एन्ड एड्भाइजरी सिस्टम, निदान ईएचआर, खेल्दै सिक्दै कक्षा, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन र राइड टु अर्न छनोट भएका छन्।
यसअघि स्टार्टअप र सोसल इन्नोभेसन विधामा उत्कृष्ट १० तथा प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १५ प्रतिस्पर्धी सेमिफाइनलका लागि छनोट भएका थिए। उनीहरूले तालिम, मेन्टरिङ, उद्योग भ्रमण तथा मंसिर ३ र ४ गते आयोजित सनवे स्टार्टअप आइडिया फेस्ट २०२६ मा सहभागी हुने अवसर पाएका थिए।
उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक भोटिङ पनि सुरु भएको छ। ‘हाम्रो पे’मार्फत आफूलाई मन परेको स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाई भोट गर्न सकिनेछ। चारवटै विधाका विजेता जुरी मूल्यांकन, फिल्ड भिजिट र सार्वजनिक भोटिङका आधारमा छनोट गरिने आयोजकले जनाएको छ।
यसैगरी, सेमिफाइनलमा पुगेका प्रतिस्पर्धीहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२६ मा पनि सहभागी हुन पाउनेछन्। यस विधामा ‘हाम्रो पे’मार्फत भोट गर्न सकिनेछ। सबैभन्दा बढी मत प्राप्त गर्ने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिनेछ।
ग्रान्ड जुरीसहित अवार्डका विभिन्न पूर्वकार्यक्रमलाई समेटेर मंसिर १६ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा विशेष टेलिभिजन कार्यक्रम प्रसारण हुनेछ। उक्त कार्यक्रम तीन एपिसोडमा प्रसारण हुने जनाइएको छ।
एघार वर्षअघि सुरु भएको आइसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रमका रूपमा स्थापित छ। यस वर्ष अवार्डमा १७ विधामा पुरस्कार प्रदान गरिँदैछ। अवार्डको एघारौँ संस्करण पुसको पहिलो साता आयोजना हुनेछ।
यस वर्षको आइसिटी अवार्डलाई इन्ड्राइभले शीर्ष प्रायोजन गरेको छ। नेपाल पे क्यूआर र टिंगटिंग इन एसोसिएसन विथ तथा सस्तो टिकेट्स पावर्ड बाईका रूपमा रहेका छन्। अवार्ड आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरणसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्य रहेको छ।


प्रतिकृया