गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा गुरुङ समुदायको मौलिक परम्पराअनुसार विवाह गर्ने भएका छन्। उनले विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका छन्।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।
गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण पुर्खाको इतिहास, सामुदायिक पहिचान र मौलिक संस्कृति संरक्षण गर्नु रहेको बताए। आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्ने उद्देश्यले परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ।
उनले आफ्नो समुदाय, पुर्खा र जन्मभूमिको पहिचान बिर्सेर अरूको संस्कृति अपनाउँदै विवाह गर्ने प्रवृत्ति उचित नभएको बताए। देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउन गोरखामा विवाह गर्ने निर्णय गरेको उनले उल्लेख गरे।
विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने तथा ऋण लिएर भए पनि भव्य भोजभतेर गर्नुपर्ने सामाजिक प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए। विवाह दुई व्यक्तिबीचको सम्बन्ध र जीवनभरको साथ भएकाले अनावश्यक खर्च र तामझाम गर्न आवश्यक नरहेको उनको धारणा छ।
गृहमन्त्री गुरुङका अनुसार विवाह समारोहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुनेछन्। पार्टी प्यालेसमा भव्य समारोह गर्न सक्ने अवस्था भए पनि आफू र हुनेवाला श्रीमती दुवैको चाहनाअनुसार सामान्य र परम्परागत शैलीमा विवाह गर्न लागिएको उनले बताए।
उनले विवाह हुने स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा आफ्नो विवाहले सहयोग पुर्याओस् भन्ने चाहना रहेको उनले बताए। उक्त क्षेत्रलाई पर्यटन तथा वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले जानकारी दिए। यद्यपि, समारोहलाई सीमित र सामान्य राख्ने उनको योजना छ।
कार्यक्रममा गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्याएको योगदानको पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको उल्लेख गर्दै उनले देश तथा विदेशमा रहेका गुरुङ समुदायप्रति आभार व्यक्त गरे।
उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालका नागरिकले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको उक्त आन्दोलनमा पूर्वी क्षेत्रका नागरिकले निरन्तर सहयोग गरेको स्मरण गर्दै उनले पूर्वी नेपाल आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे।
आफू कठिन परिस्थितिमा पर्दा विभिन्न आरोप र आलोचनाका बीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। समुदायले सिकाएको देशप्रेमको भावनालाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने उनले बताए।
यसैबीच, गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धि कायम गर्न सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको बताएका छन्। नागरिकको सुरक्षा र देशको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकको सुरक्षाका लागि आफू सधैँ तयार रहेको उल्लेख गरे।

प्रतिकृया