नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान चलनचल्तीका सिक्का डिजाइन, छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्यताप्राप्त सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो।
राष्ट्र बैंकले २०८३ मंसिर १३ गते (२९ नोभेम्बर २०२६) बोलपत्रसम्बन्धी सूचना प्रकाशित गरेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत एक चरण, दुई खाम प्रणालीबाट खरिद प्रक्रिया अघि बढाइनेछ।
बोलपत्रमा सहभागी हुने कम्पनीले प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राख्नुपर्नेछ। ती दुवै खामलाई अर्को एउटै सिलबन्दी खामभित्र राखेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
पूर्वयोग्यताप्राप्त कम्पनीले बोलपत्रसम्बन्धी कागजात नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट खरिद गर्न सक्नेछन्। बोलपत्र कागजात खरिद गर्ने अन्तिम मिति २०८३ पुस १३ गते (२८ डिसेम्बर २०२६) तोकिएको छ।
बोलपत्र कागजातको शुल्क नेपाली रुपैयाँमा २० हजार, अमेरिकी डलरमा १३२ र युरोमा ११८ तोकिएको छ। कागजात खरिद गर्दा कम्पनी दर्ता प्रमाणपत्र, अधिकारपत्र र शुल्क बुझाएको बैंक भौचर पेस गर्नुपर्नेछ।
बोलपत्रसम्बन्धी पूर्वबैठक २०८३ मंसिर २५ गते (११ डिसेम्बर २०२६) दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुनेछ।
इच्छुक कम्पनीले २०८३ पुस १४ गते (२९ डिसेम्बर २०२६) दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ। बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्नेछ।
बोलपत्रसँगै न्यूनतम १ लाख २७ हजार अमेरिकी डलर बराबरको धरौटी (बिड सेक्युरिटी) पेस गर्नुपर्नेछ। उक्त धरौटी बोलपत्रको मान्य अवधि सकिएको मितिपछि थप ३० दिनसम्म मान्य हुनुपर्ने व्यवस्था छ। सूचनाअनुसार धरौटीको अवधि २८ मे २०२७ सम्म कायम रहनुपर्नेछ।
सरकारी बिदाका कारण बोलपत्र खरिद, पेस वा खोल्ने अन्तिम मिति प्रभावित भएमा त्यसपछिको कार्यदिनलाई अन्तिम मिति मानिनेछ। यस्तो अवस्थामा बोलपत्र र धरौटीको मान्य अवधि भने सूचनामा तोकिएअनुसार नै कायम रहनेछ।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेको फर्म, संस्था वा कम्पनी तथा त्यसका सञ्चालक वा लगानीकर्ताले नयाँ फर्म वा कम्पनी खोलेर सञ्चालन गरेको अवस्थामा पनि बोलपत्रमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले कुनै कारण नखुलाई सबै वा आंशिक रूपमा बोलपत्र स्वीकृत वा अस्वीकृत गर्न सक्ने जनाएको छ। बोलपत्रसम्बन्धी विस्तृत सूचना राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।


प्रतिकृया