राष्ट्रिय सहकारी बैंक लिमिटेडको पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा माथि पुगेको छ। बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पूँजी पर्याप्तता अनुपात ११.६६ प्रतिशत पुगेको हो। नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा ८ प्रतिशत रहेको छ।
अघिल्लो त्रैमाससम्म ४.४२ प्रतिशत रहेको पूँजी पर्याप्तता अनुपात छोटो अवधिमै बढेर ११.६६ प्रतिशत पुगेको छ। यससँगै बैंकको पूँजी आधार तथा जोखिम वहन क्षमतामा सुधार आएको देखिएको छ।
वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमाससम्म करिब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंक चालु आर्थिक वर्षमा नाफामा फर्किएको हो। बैंकको खुद ब्याज आम्दानी पनि बढेर ८७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
यस अवधिमा बैंकको सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि देखिएको छ। त्यस्तै, विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि कमी आएको छ। चालु आर्थिक वर्षको नाफाले सञ्चित नोक्सानी घटाउन योगदान पुर्याए पनि यो पूर्ण रूपमा अन्त्य भइसकेको छैन।
बैंकका वित्तीय सूचकहरू सुधारोन्मुख रहे पनि निष्क्रिय कर्जा अझै मुख्य चुनौतीका रूपमा देखिएको छ। चौथो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत रहेको छ। उच्च निष्क्रिय कर्जाका कारण कर्जा असुली, जोखिम व्यवस्थापन र कर्जा गुणस्तर सुधारलाई बैंकले आगामी दिनमा प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।
बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुलीलाई प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने तथा संस्थागत सुशासनलाई थप बलियो बनाउने रणनीति अघि सारेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पुर्याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए। उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पूँजी आधार थप सुदृढ बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरे।
चौथो त्रैमासको वित्तीय विवरणले राष्ट्रिय सहकारी बैंक सुधार र पुनर्संरचनाबाट स्थायित्वतर्फ अघि बढिरहेको संकेत गरेको छ। यद्यपि निष्क्रिय कर्जा नियन्त्रण, सञ्चित नोक्सानीको पूर्ण व्यवस्थापन र संस्थागत सुशासनलाई थप सुदृढ बनाउनु बैंकका लागि आगामी दिनका महत्वपूर्ण चुनौती रहनेछन्।
प्रतिकृया