निजी क्षेत्रलाई ऊर्जा व्यापारको बाटो खुला गरिदिने हो भने नेपालले अहिलेको तुलनामा कैयौँ गुणा बढी विद्युत् निर्यात गर्न सक्ने ऊर्जा उद्यमीहरूले बताएका छन्। बजारको चिरफारले बानेश्वरको टेक्सपायर कलेजमा आयोजना गरेको ‘चिरफार पर्सपेक्टिभ : नेपालमा हाइड्रोपावरको विगत, वर्तमान र भविष्य’ शीर्षकको कार्यक्रममा बोल्दै ऊर्जा उद्यमीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा जलविद्युत् क्षेत्रका दिग्गज उद्यमीहरू ज्ञानेन्द्रलाल प्रधान, गणेश कार्की र उत्तम भ्लोन लामा सहभागी थिए। नेपालको जलविद्युत् क्षेत्रको विगत, वर्तमान अवस्था, उत्पादन क्षमता, आन्तरिक खपत, विद्युत् निर्यातको सम्भावना तथा आगामी दिनमा यस क्षेत्रमा देखिन सक्ने अवसरबारे कार्यक्रममा गहन छलफल गरिएको थियो।
अहिले वर्षायाममा नेपालमा करिब ४,५०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ। तर, देशभित्रको खपत २,३०० देखि २,४०० मेगावाट मात्रै छ। भारत र बंगलादेशमा गरी करिब १,२०० मेगावाट हाराहारी मात्रै विद्युत् निर्यात गर्न सकिएको अवस्थामा वर्षायाममा ७०० देखि ८०० मेगावाटसम्म विद्युत् खेर जाने गरेको ऊर्जा उद्यमीहरूको भनाइ छ।
वर्षायाममा विद्युत् बढी उत्पादन हुने भएपछि नेपाल विद्युत् प्राधिकरणले फोन गरेरै कतिपय आयोजनाका पावर हाउस बन्द गराउनुपर्ने अवस्था रहेको उनीहरूले बताए। यसले गर्दा जलविद्युत् आयोजनाहरूले आफ्नो उत्पादन क्षमताअनुसार आम्दानी गर्न सकेका छैनन्।
हिउँदको अवस्था भने बिल्कुलै फरक छ। नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ रिभर प्रकृतिका छन्। नदीमा पानीको सतह घट्ने भएकाले वर्षायाममा ४,५०० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भएका आयोजनाहरूले हिउँदमा करिब १,८०० मेगावाट मात्रै उत्पादन गर्ने गरेका छन्। फलस्वरूप हिउँदमा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ।
तर, अब यो समस्या पनि क्रमशः समाधान हुँदै जाने उत्तम भ्लोन लामाको भनाइ छ। उनका अनुसार सोलार इनर्जी मार्फत थप ७०० देखि ८०० मेगावाट विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ। यसले दिउँसोको विद्युत् माग पूरा गर्न सहयोग गर्नेछ। त्यस्तै, बिहान र बेलुकाको पिक टाइमको माग पूरा गर्न Peaking Run of River प्रकृतिका आयोजना निर्माण हुने क्रममा छन्। यी आयोजना र सौर्य ऊर्जाको उत्पादन बढ्दै जाँदा आगामी केही वर्षमा हिउँदको आन्तरिक मागसमेत धान्न सकिने अवस्थामा पुगिने उनले बताए।
भारतमा नेपालको विद्युत्को बजार मुख्यतः वर्षायाममा मात्रै भएकाले वर्षायाममा बढी विद्युत् उत्पादन गरेर भारतलाई निर्यात गर्नुपर्ने अवस्था रहेको पनि भ्लोनले बताए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) का वरिष्ठ उपाध्यक्षसमेत रहेका भ्लोनका अनुसार निजी क्षेत्रलाई निर्वाध रूपमा विद्युत् व्यापार गर्न दिने हो भने अहिलेको तुलनामा कैयौँ गुणा बढी विद्युत् भारतमा निर्यात गर्न सकिन्छ।
निजी क्षेत्रले कसरी बेच्न सक्छ भारतमा बिजुली?
विद्युत् प्राधिकरणले नै पर्याप्त मात्रामा भारतमा विद्युत् बिक्री गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रले कसरी निर्यात गर्न सक्छ भन्ने प्रश्नसमेत कार्यक्रममा उठेको थियो।
यसको जवाफमा ऊर्जा उद्यमीहरूले सरकारी निकायको प्रक्रियागत जटिलताका कारण प्राधिकरणलाई विद्युत् व्यापार गर्न कठिन हुने तर निजी क्षेत्रका कम्पनीहरूलाई भारतीय निजी ऊर्जा कम्पनीहरूसँग प्रत्यक्ष सम्झौता गरेर विद्युत् बिक्री गर्न तुलनात्मक रूपमा सहज हुने दाबी गरे।
उनीहरूले आजभन्दा ७–८ वर्षअघि नै एउटा भारतीय ऊर्जा कम्पनीसँग २,५०० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता गरिसकेको अनुभवसमेत कार्यक्रममा सुनाएका थिए।
ऊर्जा उद्यमीहरूका अनुसार अहिले नेपालमा उत्पादन भइरहेको ४,५०० मेगावाट विद्युत् निकै सानो परिमाण हो। भारतमा मात्रै १० हजार मेगावाटभन्दा बढी विद्युत् राम्रो मूल्यमा बिक्री गर्न सकिने सम्भावना रहेको उनीहरूको दाबी छ। तर, त्यसका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा स्वतन्त्र रूपमा सहभागी हुने वातावरण बनाउनुपर्ने उनीहरूको जोड छ।
विद्युत् ऐन संशोधनबाट निजी क्षेत्रलाई व्यापारको बाटो खुल्ने अपेक्षा
IPPAN का निवर्तमान अध्यक्ष तथा उर्जा मन्त्रीका सल्लाहकार गणेश कार्कीका अनुसार सरकारले छिट्टै ल्याउने तयारी गरेको अध्यादेशले विद्युत् ऐन, २०४९ संशोधन गर्दै निजी क्षेत्रका लागि विद्युत् व्यापारको बाटो खोल्ने सम्भावना छ। यसले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता र विद्युत् निर्यातको सम्भावना विस्तार गर्ने उनको भनाइ छ।
यसैबीच, सरकारले आगामी डिसेम्बर ९ र १० (मंसिर २३ र २४) मा काठमाडौंमा Nepal Infrastructure Summit 2026 आयोजना गर्दैछ। नेपाल सरकार, नेपाल उद्योग परिसंघ (CNI) तथा नेपाल निर्माण व्यवसायी महासंघलगायतका संस्थाको आयोजनामा हुन लागेको उक्त सम्मेलनको उद्देश्य नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु रहेको छ। सम्मेलनअघि नेपालमा लगानीको वातावरण बनाउन सरकारले विभिन्न ५९ वटा ऐनका ४९४ वटा प्रावधान संशोधन गर्ने तयारी गरेको छ। तीमध्ये विद्युत् ऐन, २०४९ पनि समावेश छ। सरकारले अध्यादेशमार्फत आवश्यक कानुनी संशोधन गरेर लगानीका अवरोध हटाउने र निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्य राखेको छ।
इन्डक्सन चुलोको प्रयोग बढाएर ग्यास आयात घटाउनुपर्ने प्रधानको सुझाव
कार्यक्रममा बोल्दै ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले खाना पकाउन इन्डक्सन चुलोको प्रयोगलाई व्यापक रूपमा प्रोत्साहन गर्दै क्रमशः ग्यासको प्रयोग विस्थापित गर्दै जानुपर्ने धारणा राखेका थिए।
नेपालमा उत्पादन हुने विद्युत्को आन्तरिक खपत बढाउन खाना पकाउने प्रयोजनमा विद्युत्को प्रयोग विस्तार गर्नुपर्ने उनको भनाइ थियो। यसो गर्न सके खाना पकाउने ग्यास आयातमा भारत जाने अर्बौँ रुपैयाँ नेपालभित्रै रहने र नेपालमै उत्पादन भएको जलविद्युत्को खपतसमेत बढ्ने प्रधानले बताए।
उनका अनुसार विद्युत्को उत्पादन बढाउनुका साथै देशभित्रै यसको प्रयोग बढाउने नीति लिन सके ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढ्न र आयातमा खर्च हुने ठूलो रकम बचाउन सकिन्छ।

प्रतिकृया