सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा शैक्षिक वातावरण सुदृढ बनाउने उद्देश्यले सरकारले देशभरका १०९ ठूला सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।
उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयलाई प्राथमिकतामा राखेर शिक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा पूर्वाधार विकासको योजना अघि बढाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार, यस योजनाका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
योजनाको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा बन्ने भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ।
यी संरचनाले विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने मन्त्री पोखरेलले बताएका छन्।
उनले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्नु सकारात्मक भए पनि कतिपय विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको अवस्थाप्रति सरकार सचेत रहेको उल्लेख गरेका छन्।
‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने, ‘आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।’
सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले देशको भविष्य निर्माणमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिएका छन्। उनले सामुदायिक शिक्षाको मुहार परिवर्तन गर्न सबै पक्षलाई सहकार्य र हातेमालो गर्न आह्वानसमेत गरेका छन्।

प्रतिकृया