आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २४८.२८ प्रतिशतले बढेर २० करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हुनु नाफा बढ्ने मुख्य कारण हो।
चौथो त्रैमाससम्ममा आशा लघुवित्तको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशतले बढेर ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ५०.०५ प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज ५ करोड ३१ लाख रुपैयाँबाट बढेर १० करोड ३ लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको खराब कर्जा अनुपात ०.३६ प्रतिशतबिन्दुले घटेर ४.४८ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब २१ करोड रुपैयाँ निक्षेप र ६ अर्ब ४५ करोड रुपैयाँ सापटी गरि कुल ९ अर्ब ६६ करोड रुपैयाँ संकलनगरी १० अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १८ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया