चार कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज १३ गते अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले लाभांश तथा साधारणसभा प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्दैछन्। त्यसैले आजसम्म सेयर कारोबार भई आफ्नो नाममा सेयर कायम भएका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै सम्बन्धित साधारणसभामा सहभागी हुन पाउनेछन्।
रिलायन्स स्पिनिङ मिल्स : ३० प्रतिशत नगद लाभांश
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुने ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। उक्त रकममा लाभांश करसमेत समावेश छ। कम्पनीको ३२औँ वार्षिक साधारणसभा असोज २२ गते बिहान ९ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेटमा बस्नेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा प्रस्तावित लाभांशसम्बन्धी विषयमा छलफल हुनेछ। प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
गरिमा विकास बैंक : १० प्रतिशत बोनस र १० प्रतिशत नगद
गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार २६७ रुपैयाँ २२ पैसा रहेको छ। बैंकको २०औँ वार्षिक साधारणसभा असोज २६ गते बिहान १०ः३० बजे पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा आयोजना हुनेछ। सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अधिकृत पुँजी बढाएर ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने तथा मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन्।
नबिल बैंक : ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद
नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम प्रस्ताव गरेको छ। दुवै लाभांशमा लाग्ने करसमेत समावेश छ। नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा असोज २२ गते बिहान ९ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ। सभामा अधिकृत पुँजी बढाएर ३४ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक समूहबाट तीन जना सञ्चालक निर्वाचित गर्ने तथा मर्जर, एक्विजिसन वा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेस हुनेछ।
निफ्रा : ५.२६३२ प्रतिशत नगद लाभांश
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। उक्त रकममा लाभांश करसमेत समावेश छ। निफ्राको आठौँ वार्षिक साधारणसभा असोज २३ गते बिहान ९ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बस्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति, साधारणसभाबाट पारित तथा नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि वितरण गरिने बैंकले जनाएको छ।

प्रतिकृया