गरिमा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारण सभा असोज २६ गते सोमबार आयोजना गर्ने भएको छ। सभा पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन्।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार २६७ रुपैयाँ २२ पैसा रहेको छ। नगद लाभांशमा प्रस्तावित बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको छ।
विशेष प्रस्तावतर्फ बैंकको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव रहेको छ। साथै, सञ्चालकहरूको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्था खोजी गरी मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा राखिएको छ। यसका लागि समझदारीपत्रमा हस्ताक्षर, Due Diligence Audit, मूल्यांकनकर्ता तथा लेखापरीक्षक नियुक्ति र नियामक निकायबाट आवश्यक स्वीकृति लिने लगायतका प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले असोज १४ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


प्रतिकृया