रिज लाइन इनर्जीले आर्थिक वर्ष २०८२/८३ का लागि १०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको १२२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत अर्थात् १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा कात्तिक १७ गते मंगलबार ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजे बस्नेछ।
सभाले प्रस्तावित नगद लाभांश पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ।
यस्तै, दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साथै, १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण तथा बिक्री गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया