करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन्। उनले १० लाख रुपैयाँको बम्पर उपहार पाएका हुन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको उपहार विजेता घोषणा गरिएको हो। साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
यस अवधिमा अन्य १५ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार पाएका छन्। यस्तै, दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए। यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ कारोबार र अनलाइन तथा कार्डबाट भुक्तानी गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार रहेका छन्।
बम्पर विजेता साह कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।


प्रतिकृया