अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुनेछन्।
नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अनसोर अर्थात् अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। हालको कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय लाग्ने विद्यार्थीले पनि अनसोर आवेदन दिन पाउने छैनन्। कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेकाले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन्।
नयाँ व्यवस्थाबाट प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट अर्थात् अफसोर आवेदन दिनुपर्नेछ। विद्यावारिधि तथा विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी र केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीलाई भने यो नियम लागू नहुने व्यवस्था गरिएको छ।
यस्तै, भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्न पाउने व्यवस्थामा पनि कडाइ गरिएको छ। अब पुनरावलोकनको निर्णय नआएसम्म विद्यार्थीले अस्ट्रेलिया बाहिर बस्नुपर्नेछ।
यसअघि नै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी तथा पोस्ट–स्टडी वर्क भिसामा रहेका विद्यार्थीले परिवार ल्याउन नपाउने व्यवस्था अघि सारेको थियो। साथै, आप्रवासीको वार्षिक संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने नीति अघि बढाइएको छ।

प्रतिकृया