आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
आज असोज १६ गते शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २,५८७.२५ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये ६१ कम्पनीको सेयर मूल्य बढेको, २०७ कम्पनीको सेयर मूल्य घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
शुक्रबार नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विकास हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य २११ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य २०३.२८ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य ५६१ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५१० रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न
ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
पारित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।
बलेफी हाइड्रोपावरले बीएचएल इन्भेष्टमेन्टमा १ करोड रुपैयाँ लगानी गर्ने
बलेफी हाइड्रोपावर लिमिटेडले बीएचएल इन्भेष्टमेन्ट लिमिटेडमा १ करोड रुपैयाँ सेयर पुँजी लगानी गर्ने भएको छ।
कम्पनीको २०८३ असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम लगानी गर्ने निर्णय गरेको हो। बलेफी हाइड्रोपावरले लगानीको उद्देश्यले बीएचएल इन्भेष्टमेन्ट लिमिटेड नामक सार्वजनिक कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको जनाएको छ।
बीएचएल इन्भेष्टमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ। बलेफी हाइड्रोपावरले उक्त कम्पनीमा कुल २ करोड रुपैयाँ पुँजी लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।
सोही क्रममा बीएचएल इन्भेष्टमेन्टले असोज २ गते १ करोड रुपैयाँ सेयर पुँजी भुक्तानी माग गरेको थियो। त्यसअनुसार बलेफी हाइड्रोपावरको सञ्चालक समितिले माग गरिएको १ करोड रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको हो।
चार वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ ?
विकास हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज १६ गते अन्तिम दिन रहेको छ। यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएका छन्।
त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराहीमा बिहान ९ः३० बजे हुनेछ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको ११औँ वार्षिक साधारण सभा असोज ३० गते हुनेछ।
सिटिजन्स बैंक इन्टरनेसनलले ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २०औँ वार्षिक साधारण सभा असोज २८ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे हुनेछ।
कुमारी बैंकले करसहित २.०१५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २६औँ वार्षिक साधारण सभा असोज २८ गते सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण शम्शेर सडकमा बिहान ११ बजे हुनेछ।
हिजोका समाचार छुटाउनुभयो कि?
बजारको चिरफार डे–इन्ड अपडेट: सेयरबजारमा के के भयो ?
सिद्धार्थ बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
बेनी हाइड्राेपावरको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?
पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनी दीपेन्द्रले सेयर बेच्दै, कति कित्ता ?
रिज लाइन इनर्जीले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
भोलिसम्म सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनले कति दिँदैछ?
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया