करिब एक महिनाअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी सेयर बजार बनाउने लक्ष्य कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका थिए। तर अहिले ७२ वटा ब्रोकरको प्रणाली राखिएको डेटा हबमा र्यान्समवेयर आक्रमण भएपछि कारोबार नै रोक्नुपर्ने अवस्था आएको छ।
डेटा हबको पूर्वाधारमा आइतबार बिहान करिब ५:३० बजे साइबर आक्रमण भएको थियो। घटनापछि ७२ वटा ब्रोकरको प्रणाली प्रभावित भयो र थप जोखिम फैलिन नदिन प्रभावित प्रणालीलाई अलग राखिएको डेटाहबले वाइकोलाई पठाएको पत्रमा उल्लेख छ।
तर यति ठूलो साइबर आक्रमण भएको २४ घण्टासम्म पनि नेपाल स्टक एक्सचेञ्जलाई औपचारिक रूपमा जानकारी नदिइएको विषयले गम्भीर प्रश्न उठाएको छ।
पूँजीबजारको महत्वपूर्ण पूर्वाधारमा आक्रमण हुँदा सम्बन्धित कम्पनी र प्रणाली व्यवस्थापन गर्ने पक्षले तत्काल नियामक तथा कारोबार सञ्चालन गर्ने निकायलाई जानकारी गराउनुपर्ने हो। तर यहाँ कमजोरी लुकाउन सुरुमा घटना आफैं नियन्त्रण र समाधान गर्ने प्रयास गरिएको देखिन्छ।
र्यान्समवेयर सामान्य प्राविधिक समस्या मात्र होइन। यस प्रकारको आक्रमणमा ह्याकरले प्रणाली वा डेटालाई प्रयोग गर्न नसक्ने गरी ‘लक’ गर्न सक्छ।
कतिपय घटनामा फिरौती मागिन्छ भने आक्रमणकारीले डेटा हात पारेको अवस्थामा त्यसलाई सार्वजनिक गर्ने वा गैरकानुनी रूपमा बिक्री गर्ने धम्कीसमेत दिन सक्छ।
त्यसैले लगानीकर्ताको संवेदनशील विवरणसँग जोडिएको प्रणालीमा भएको यस्तो आक्रमणबारे समयमै जानकारी नदिनुले डेटा सुरक्षित छ कि छैन, यस्तो घटना यसअघि पनि भएको थियो कि थिएन र लगानीकर्ताको विवरण कतै दुरुपयोग वा बिक्रीमा त छैन भन्ने प्रश्नसमेत जन्माएको छ। यी विषयमा सम्बन्धित निकायबाट स्पष्ट जानकारी आवश्यक देखिन्छ।
डेटा हबले आक्रमण हुनुअघि बिहान ४ बजेसम्मको पछिल्लो ब्याकअप सुरक्षित रहेको जनाएको छ।
अर्थमन्त्रीले गत महिना बोर्डलाई ‘लगानीकर्ताको सम्पत्तिको रक्षा गर्न’ भनेका थिए। अहिलेको घटनाले भने बजारको नियमनसँगै यसको प्राविधिक पूर्वाधार, साइबर सुरक्षा र आपत्कालीन अवस्थामा कारोबार निरन्तरता दिने क्षमतामाथि पनि ध्यान दिनुपर्ने अवस्था सिर्जना गरेको छ।

प्रतिकृया