प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार, स्वकीय सचिवालय तथा विज्ञ टोलीमा कार्यरत २५ जना पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ। विवरण प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा विभिन्न तह र जिम्मेवारीमा सल्लाहकार तथा कर्मचारी कार्यरत छन्। प्रधानमन्त्रीको सल्लाहकार समूहमा पाँच जना रहेका छन्।
मुख्य राजनीतिक सल्लाहकारमा कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकारमा असिम शाह रहेका छन्। दुवैलाई मन्त्रीसरहको पद दिइएको विवरणमा उल्लेख छ। ब्यञ्जनकारले भने अवैतनिक रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
त्यस्तै, अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदिशप्रसाद अग्रवाल रहेका छन्। नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र रहेका छन्। उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ।
प्रमुख स्वकीय सचिवमा सुवाष शर्मा रहेका छन्। उनलाई सचिवसरहको सुविधा दिइएको छ। स्वकीय सचिवमा नविन भण्डारी रहेका छन्।
सहसचिवसरहको सुविधामा सञ्जिव पाण्डे, दिपा दाहाल, सन्तोष गिरी र विश्व राई रहेका छन्। उनीहरूको जिम्मेवारी क्रमशः विकास परियोजना, प्रेस तथा अनुसन्धान, कार्यक्रम तथा भ्रमण समन्वय र सामाजिक विकास विज्ञका रूपमा रहेको छ।
उपसचिवसरहको सुविधामा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य रहेका छन्। सुमन गौतमलाई नागरिक उड्डयन तथा रविकिरण अधिकारीलाई भाषा तथा मस्यौदासम्बन्धी जिम्मेवारी दिइएको छ।
त्यस्तै, शाखा अधिकृतसरहको सुविधामा सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी रहेका छन्। प्रशासन सहायक तथा अन्य कर्मचारीतर्फ अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की र कम्प्युटर सहायक अमृत पाण्डे रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयमा कुल ४८ जनाको दरबन्दी रहेको विवरणमा उल्लेख छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सल्लाहकार तथा निजी सचिवालयसँग सम्बन्धित कामको व्यवस्थापन र समन्वय गर्ने संरचना कार्यालयअन्तर्गत रहेको जनाएको छ।


प्रतिकृया