बजारको चिरफार डे–इन्ड अपडेट: सेयरबजारमा के के भयो ?

बजारको चिरफार डे–इन्ड अपडेट: सेयरबजारमा के के भयो ?
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार डे–इन्ड अपडेटमा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

आजको सेयरबजार 

असोज १६ गते बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा रु. ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५.०४ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १३९ कम्पनीको सेयर मूल्य बढेको, १२८ कम्पनीको सेयर मूल्य घटेको र १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सिद्धार्थ बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सिद्धार्थ बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ४५९.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४१८.०९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर शुक्रबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


बेनी हाइड्राेपावरको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?

बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याटमा जम्मा हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच असोज १५ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ।

 अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ।कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो जसको बाँडफाँड असोज ५ गते सम्पन्न भइसकेको छ।


पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

पोखरा फाइनान्सले २ लाख २३ हजार ५६८ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।फाइनान्सका संस्थापक सेयरधनी मनबहादुर गुरुङको नाममा रहेको १ लाख ६६ हजार ५६.९४ कित्ता र नारायणबाबु लोहनीको नाममा रहेको ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

यसअघि संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी उक्त सेयर बिक्रीमा राखिएको थियो। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेपछि फाइनान्सले ७ दिने सूचना जारी गर्दै सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।


मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनी दीपेन्द्रले सेयर बेच्दै, कति कित्ता ?

मिड सोलु हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी दीपेन्द्रबहादुर साउदले १ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।कम्पनीका अनुसार साउदले आफूले धारण गरेको सेयरमध्ये आगामी ३ महिनाभित्र १ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार साउदले सेयर बिक्रीको मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन्।मिड सोलु हाइड्रोपावरको आयोजना सोलुखुम्बुको सल्लेरीमा रहेको ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना हो।


रिज लाइन इनर्जीले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

रिज लाइन इनर्जीले आर्थिक वर्ष २०८२/८३ का लागि १०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको १२२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत अर्थात् १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा कात्तिक १७ गते मंगलबार ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजे बस्नेछ।सभाले प्रस्तावित नगद लाभांश पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


भोलिसम्म सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनले कति दिँदैछ?

विकास हाइड्रोपावर, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र सानिमा मिडिल तमोर हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने भोलि असोज १६ गते अन्तिम दिन रहेको छ। यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएका छन्। त्यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।

विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराहीमा बिहान ९ः३० बजे हुनेछ।

कुमारी बैंकले करसहित २.०१५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २६औँ वार्षिक साधारण सभा असोज २८ गते सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण शम्शेर सडकमा बिहान ११ बजे हुनेछ।

 सिटिजन्स बैंक इन्टरनेसनलले ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २०औँ वार्षिक साधारण सभा असोज २८ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे हुनेछ

 त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरले करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको ११औँ वार्षिक साधारण सभा असोज ३० गते हुनेछ।


सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?

सिद्धार्थ बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोलि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनी मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।

१० प्रतिशत बोनस सेयरबापत १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ। त्यस्तै, १० प्रतिशत नगद लाभांशबापत करसहित १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ वितरण गर्ने प्रस्ताव छ।उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार डे–इन्ड अपडेटमा आजका लागि यति नै।भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार बिहानी अपडेट लिएर उपस्थित हुनेछौं।धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स