ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनका आयोजना समयमै सम्पन्न गर्न देखिएका अवरोध हटाउन अन्तरमन्त्रालय समन्वय थालेको छ। मन्त्रालयले बिहीबार १२ वटा प्रसारण लाइन परियोजनाका प्रमुखलाई बोलाएर निर्माण प्रगति र देखिएका समस्याबारे जानकारी लिएको हो।
परियोजना प्रमुखहरूले प्रसारण लाइन निर्माणका क्रममा वन विभागबाट रुख कटानमा अवरोध तथा सडक विभागबाट पोल र टावर स्थानान्तरणका लागि पर्याप्त समय नपाएको समस्या सुनाएका थिए। मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्न थालेपछि निर्माण कार्यले गति लिन थालेको जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार छलफलमा १२ वटै प्रसारण लाइन आयोजना यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
ब्रिफिङमा तुम्लिङटार–शीतलपाटी २२० केभी, ढल्केबर–बाणगंगा १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, नेपालगन्ज–नानपारा १३२ केभी, लालबन्दी–सलेमपुर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, हेटौँडा–ढल्केबर ४०० केभी र कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइनका आयोजना प्रमुखले निर्माण प्रगति प्रस्तुत गरेका थिए।
इनरुवा–विराटनगर प्रसारण लाइनमा म्याद थप्दा पनि ठेकेदारले काम अघि नबढाएपछि पेटी ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी समन्वय गरिएको छ। यस्तै, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको वनसम्बन्धी समस्या समाधान भइसकेको र आगामी कात्तिकसम्म आयोजना सम्पन्न हुने जानकारी दिइएको छ।
नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १२ वटा प्रसारण लाइनको वर्तमान अवस्था बुझेर तत्काल समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयमा ब्रिफिङ गरिएको हो।
ऊर्जामन्त्रीका प्रमुख सल्लाहकार अनिलकुमार अधिकारीका अनुसार प्रसारण लाइनमध्ये कम्तीमा ६ महिनादेखि बढीमा एक वर्षभित्र मुख्य ग्रिडमा जोडिने अवस्था रहेको छ। प्रसारण लाइन सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा देखिँदै आएको ट्रिपिङ तथा विद्युत् आपूर्तिमा हुने अवरोध कम हुने अपेक्षा गरिएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अन्तरमन्त्रालयसँग सम्बन्धित समस्या तत्काल समन्वय गरी समाधान गर्ने प्रतिबद्धता जनाउँदै आयोजना प्रमुखलाई प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। निर्माणका क्रममा समस्या आए तत्काल मन्त्रालयलाई जानकारी गराउनसमेत उनले आग्रह गरेका छन्।

प्रतिकृया