तीन वाणिज्य बैंकले ब्याजदर घटाए, एभरेष्ट बैंकले बढायो
वाणिज्य बैंकहरूले २०८२ सालको वैशाख महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित विवरण अनुसार, कुल २० वाणिज्य बैंकमध्ये तीन बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले आफ्नो ब्याजदर वृद्धि गरेको छ। बाँकी १६ बैंकहरूले भने चैत महिनाकै ब्याजदरलाई यथावत् राखेका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन्। कुमारी बैंकले ०.०९ प्रतिशत विन्दुले, सानिमा बैंकले ०.१ प्रतिशत विन्दुले र नेपाल बैंकले ०.३५ प्रतिशत विन्दुले आफ्नो अधिकतम ब्याजदर घटाएका हुन्। यता, एभरेष्ट बैंकले भने आफ्ना ग्राहकहरूको लागि ब्याजदर बढाएको छ। उसले व्यक्तिगत मुद्दति निक्षेपमा ०.६१ प्रतिशत विन्दुले अधिकतम ब्याजदर वृद्धि गरेको हो।
वैशाख महिनामा औसत हिसाबले हेर्दा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.००३५ प्रतिशत विन्दुले बढेको देखिएको छ। तर, संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने घटेको छ। चैत महिनाको तुलनामा वैशाखमा यसको औसत ब्याजदर ०.०६४ प्रतिशत विन्दुले कमी आएको छ। यस्तो निक्षेपमा आठ वटा बैंकहरूले ब्याजदर घटाएका छन्, भने एभरेष्ट बैंकले यहाँ पनि वृद्धि गरेको देखिन्छ। हालबैंकिङ प्रणालीमा प्रशस्त तरलता रहँदा ब्याजदर लगातार घटिरहेको छ। वैशाख महिनासम्म आइपुग्दा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर करिब ५.९८ प्रतिशतमा झरेको छ।