आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा सेन्टर र रोबोटिक्सको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला आगामी दशकमा विद्युत् रणनीतिक सम्पत्तिका रूपमा अझ महत्वपूर्ण बन्ने देखिएको छ। यस्तो अवस्थामा उच्च जलविद्युत् सम्भावना भएको नेपालका लागि ऊर्जा क्षेत्रले नयाँ अवसर सिर्जना गर्न सक्ने देखिन्छ। एआई र रोबोटिक्स विस्तारसँगै डेटा सेन्टर, मेसिन तथा रोबोट सञ्चालनका लागि ठूलो मात्रामा विद्युत् आवश्यक पर्ने भएकाले ऊर्जा आपूर्ति भविष्यको आर्थिक प्रतिस्पर्धाको महत्वपूर्ण आधार बन्न सक्ने धारणा विश्वका धनाढ्य व्यवसायी एलन मस्कले समेत व्यक्त गरेका छन्। अमेरिका र चीन एआई विकासमा अगाडि बढिरहेका छन् भने भारतले पनि एआई तथा डेटा सेन्टरमा ठूलो लगानी विस्तार गरिरहेको छ। भारतको बढ्दो ऊर्जा माग नेपालका लागि समेत अवसर बन्न सक्छ। नेपाल र भारतबीच आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने समझदारी भइसकेको छ भने भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा समेत नेपालको विद्युत् निर्यात गर्ने बाटो खुलेको छ।
नेपालको जलविद्युत् क्षेत्रको प्रमुख चुनौती भनेको उत्पादन र मागबीचको मौसमी असन्तुलन हो। अधिकांश जलविद्युत् आयोजना रन अफ रिभर (RoR) प्रकृतिका भएकाले बर्खामा उत्पादन बढ्छ, तर आन्तरिक माग सीमित हुँदा अतिरिक्त विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउँछ। हिउँदमा नदीको बहाव घट्दा उत्पादन कम हुन्छ, तर माग बढ्ने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था देखिन्छ। त्यसैले नेपालमा उत्पादन क्षमता बढाउनु मात्र पर्याप्त नभई आवश्यक समयमा विद्युत् उपलब्ध गराउन सक्ने आयोजना विकास गर्नु पनि महत्वपूर्ण हुन्छ। यही कारण आगामी चरणमा Reservoir र पिकिङ रन अफ रिभर (PRoR) आयोजनाको भूमिका बढ्न सक्छ। Reservoir आयोजनाले बर्खामा पानी सञ्चित गरेर हिउँदमा विद्युत् उत्पादन गर्न सक्छ भने PRoR आयोजनाले उच्च माग भएको समयमा सञ्चित पानी प्रयोग गरेर थप विद्युत् उत्पादन गर्न सक्छ।
यही परिवर्तनले शेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको मूल्यांकनलाई समेत प्रभावित गर्न सक्छ। कम्पनीसँग सञ्चालनमा रहेको आयोजना मात्र नभई भविष्यमा निर्माण गर्ने आयोजना, सहायक कम्पनीमार्फत गरिएको लगानी र आयोजनाको प्रकृति पनि महत्वपूर्ण हुन्छ। उदाहरणका रूपमा साहस ऊर्जा कम्पनीलाई लिन सकिन्छ। कम्पनीको सञ्चालनमा रहेको ८६ मेगावाटको आयोजना बाहेक सहायक कम्पनीमार्फत पिकिङ रन अफ रिभर प्रकृतिको आयोजनामा समेत लगानी रहेको छ। बुढीगण्डकी क्षेत्रमा अघि बढिरहेको ३४१ मेगावाट क्षमताको परियोजनामा रहेको संलग्नताले पनि कम्पनीप्रति लगानीकर्ताको चासो बढाएको देखिन्छ। यद्यपि शेयर मूल्य बढेकै आधारमा लगानी निर्णय गर्नु उचित हुँदैन। परियोजनाको वित्तीय अवस्था, ऋणको भार, उत्पादन लागत, PPA, निर्माण प्रगति र भविष्यका आयोजनाको सम्भाव्यता अध्ययन गर्न आवश्यक हुन्छ।
नेपाल विद्युत् प्राधिकरणले आयोजनाको प्रकृति र सिजनअनुसार विद्युत् खरिद दर निर्धारण गरेको छ। RoR आयोजनाका लागि बर्खामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा रहेको छ। PRoR आयोजनामा पिकिङ अवधिअनुसार प्रतियुनिट ८ रुपैयाँ ५० पैसादेखि १० रुपैयाँ ५५ पैसासम्मको दर छ। Reservoir आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र बर्खामा ७ रुपैयाँ १० पैसाको दर उल्लेख गरिएको छ। यसले उच्च माग भएको समयमा विद्युत् उपलब्ध गराउन सक्ने आयोजनाको आर्थिक महत्व बढ्न सक्ने संकेत गर्छ।
नेपाल सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ। यसमध्ये करिब १३,५०० मेगावाट आन्तरिक खपत गर्ने तथा १० हजार मेगावाट भारत र ५ हजार मेगावाट बंगलादेशतर्फ निर्यात गर्ने लक्ष्य छ। तर उत्पादन क्षमता बढाएर मात्रै लक्ष्य पूरा हुँदैन। आन्तरिक खपत विस्तार, प्रसारण पूर्वाधार विकास, विद्युत् निर्यातका लागि बजार सुनिश्चितता तथा Reservoir र PRoR आयोजना निर्माणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ। त्यसैले जलविद्युत् कम्पनीमा लगानी गर्दा कम्पनीको नाम वा सेयर मूल्य मात्र नभई आयोजना कुन प्रकृतिको हो, निर्माणको अवस्था, परियोजनाको लागत र ऋण, PPA, भविष्यका आयोजना, विद्युत्को बजार, आम्दानी, नाफा, नगद प्रवाह तथा लकइन अवधि जस्ता पक्ष अध्ययन गर्नु महत्वपूर्ण हुन्छ। एआई, डेटा सेन्टर र विद्युतीय पूर्वाधारको विस्तारसँगै विद्युत्को माग बढ्ने सम्भावनाले नेपालका लागि जलविद्युत्मा नयाँ अवसर सिर्जना गर्न सक्छ। तर त्यसलाई आर्थिक लाभमा बदल्न उत्पादनसँगै सही समयमा विद्युत् उत्पादन, प्रसारण र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेछ।

प्रतिकृया