म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण पूरा भइसकेको छ भने अर्को युनिटको परीक्षण पनि सुरु गरिएको छ। परीक्षण एक सातादेखि १० दिनसम्म चल्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
रघुगंगा–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुई पानी थिग्र्याउने पोखरी निर्माण भएका छन्। तिल्केनीचौरमा विद्युत्गृह निर्माण तथा उपकरण जडान पूरा भएको छ। उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ।
आयोजनाको सिभिल निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मंसिर ६ गते ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। कोरोना महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो। यसअघि पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो।
इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा सम्झौता भएको थियो। आयोजना भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो।
राहुघाटले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादित विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिनेछ। यसका लागि चार टावरसहित प्रसारण लाइन निर्माणसमेत पूरा भइसकेको छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लामा जलविद्युत् विकासको ‘गेटवे’का रूपमा लिइएको बताए। दुई दशकको प्रतीक्षापछि आयोजना सम्पन्न हुन लागेकोमा जिल्लावासी उत्साहित भएको उनको भनाइ छ।

प्रतिकृया