नेपालमा लगानी भित्र्याउन चेम्बर र एनआरएनएबीच समझदारी, संयुक्त कार्यक्रमदेखि नीतिगत पहलसम्म सहकार्य

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ७ गते
नेपालमा लगानी भित्र्याउन चेम्बर र एनआरएनएबीच समझदारी, संयुक्त कार्यक्रमदेखि नीतिगत पहलसम्म सहकार्य
AdvertisementAds

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गर्ने समझदारी भएको छ। एनसीसी अध्यक्ष कमलेश अग्रवाल र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार दुवै संस्थाले प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहजीकरण गर्नेछन्। संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गरी विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपाली व्यवसायीबीच सम्पर्क तथा साझेदारीको अवसर सिर्जना गरिनेछ।

निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग गर्न पनि संयुक्त पहल गरिनेछ। त्यस्तै, तालिम, कार्यशाला तथा सेमिनारमार्फत क्षमता अभिवृद्धि गर्नुका साथै अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति भएको छ।

व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्नेछन्।

एनसीसी अध्यक्ष अग्रवालले समझदारीले स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायबीच सहकार्य सुदृढ हुनुका साथै ज्ञान, नवप्रवर्तन र प्रविधि आदानप्रदानमा सहयोग पुग्ने बताए। उनले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता आवश्यक रहेकोमा जोड दिए।

AdvertisementAds

एनआरएनए अध्यक्ष शर्माले कानुनी जटिलताका कारण वैदेशिक लगानी भित्र्याउन समस्या रहेको उल्लेख गर्दै समझदारीले लगानी र व्यापार प्रवर्द्धनका लागि सहज वातावरण बनाउन सहयोग पुग्ने बताए। उनले विश्वभर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकता दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स