स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]

Advertisement Ads

सेयर बजारमा प्राइस एक्सन, चार्ट प्याटर्न तथा सपोर्ट–रेजिस्टेन्सका आधारमा कारोबार गर्ने प्रचलन छ। तर बजारको मूल्य संरचना, लिक्विडिटी र संस्थागत लगानीकर्ताको सम्भावित गतिविधिलाई अध्ययन गर्ने स्मार्ट मनी कन्सेप्ट (SMC) प्रति पनि पछिल्लो समय चासो बढेको छ।

‘बजारको चिरफार’को विशेष पोडकास्टमा SMC अभ्यासकर्ता राजन सुवेदीले स्मार्ट मनी कन्सेप्टमार्फत बजारको ट्रेन्ड, इन्ट्री–एक्जिट तथा सम्भावित रिभर्सल पहिचान गर्ने तरिकाबारे चर्चा गरेका छन्। उनका अनुसार स्ट्रक्चर म्यापिङ, अर्डर ब्लक, फेयर भ्यालु ग्याप, लिक्विडिटी, इन्डुसमेन्ट र चेन्ज अफ क्यारेक्टरलाई सँगसँगै अध्ययन गर्दा बजारको सम्भावित दिशा बुझ्न सकिन्छ।

सामान्य प्राइस एक्सनमा मूल्य सपोर्ट क्षेत्रमा आएपछि खरिद गर्ने गरिन्छ। SMC मा भने मूल्य सपोर्ट क्षेत्रमा आएको छ कि छैन भन्ने मात्रै नभई संस्थागत लगानीकर्ताको सम्भावित अर्डर बाँकी रहेको क्षेत्र पहिचान गर्ने प्रयास गरिन्छ। यसका लागि अर्डर ब्लकसँगै अनमिटिकेटेड फेयर भ्यालु ग्याप रहेको क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने सुवेदी बताउँछन्। मूल्य पुनः त्यस्ता क्षेत्रमा फर्किएर आएमा संस्थागत खरिदको सम्भावनालाई अध्ययन गर्न सकिने उनको भनाइ छ।

SMC मा ‘अनमिटिकेटेड’ क्षेत्रलाई पनि विशेष महत्व दिइन्छ। कुनै अर्डर ब्लक बनेपछि मूल्य पुनः उक्त क्षेत्रमा आएर त्यसलाई छोइसकेको छैन भने त्यसलाई अनमिटिकेटेड मानिन्छ। यस्तो क्षेत्रलाई संस्थागत लगानीकर्ताले आफूले चाहेको मात्रामा सेयर खरिद गर्न बाँकी रहेको सम्भावित क्षेत्रका रूपमा अध्ययन गरिन्छ। मूल्य पुनः उक्त क्षेत्रमा आएपछि खरिदको अवसर सिर्जना हुन सक्ने र त्यसपछि माथितिर जान सक्ने सम्भावना हेरिन्छ।

सुवेदीका अनुसार स्मार्ट मनी कन्सेप्टमा लिक्विडिटी महत्वपूर्ण आधार हो। मूल्यले अघिल्लो लो वा हाइ आसपासको लिक्विडिटी लिएपछि मात्रै इन्ट्रीको अवसर खोज्ने उनको रणनीति छ। विशेषगरी सेल-साइड लिक्विडिटी (SSL) लिएपछि खरिदको सम्भावना तथा बाइ-साइड लिक्विडिटी लिएपछि बिक्री वा एक्जिटको सम्भावनालाई अध्ययन गर्न सकिने उनी बताउँछन्।

बजारको संरचना बुझ्न Break of Structure (BOS) र Change of Character (CHoCH) लाई पनि महत्वपूर्ण मानिन्छ। बजारले अघिल्लो हाइलाई क्लोजिङ क्यान्डलमार्फत ब्रेक गरेमा नयाँ संरचना पुष्टि गर्न सकिने सुवेदी बताउँछन्। त्यस्तै, बजारको विद्यमान ट्रेन्डको विपरीत महत्वपूर्ण लो वा हाइ ब्रेक हुँदा ट्रेन्ड परिवर्तनको संकेतका रूपमा Change of Character लाई अध्ययन गरिन्छ। यसरी इन्टर्नल र एक्सटर्नल स्ट्रक्चर म्यापिङ गरेर बजार कुन दिशामा अघि बढिरहेको छ भन्ने बुझ्न सकिने उनको भनाइ छ।

SMC मा Fair Value Gap (FVG) अर्को महत्वपूर्ण अवधारणा हो। तीनवटा क्यान्डलमध्ये पहिलो क्यान्डलको हाइ र तेस्रो क्यान्डलको लोबीच ग्याप रह्यो भने त्यसलाई बुलिस फेयर भ्यालु ग्यापका रूपमा अध्ययन गरिन्छ। यस्तो ग्यापलाई संस्थागत अर्डर पूरा नभएको सम्भावित क्षेत्रका रूपमा हेरिन्छ। त्यसैले अर्डर ब्लक र फेयर भ्यालु ग्याप दुवै अनमिटिकेटेड अवस्थामा रहेको क्षेत्रलाई सम्भावित इन्ट्री जोनका रूपमा अध्ययन गर्न सकिने सुवेदी बताउँछन्।

बलियो सप्लाई जोन ब्रेक भएपछि धेरै खुद्रा लगानीकर्ता ब्रेकआउट पछ्याउँदै खरिदमा प्रवेश गर्ने गर्छन्। तर SMC को दृष्टिकोणबाट त्यही क्षेत्रमा रहेको लिक्विडिटीलाई संस्थागत लगानीकर्ताले प्रयोग गर्न सक्ने सम्भावनालाई समेत अध्ययन गर्नुपर्ने सुवेदीको भनाइ छ। सप्लाई जोनको माथिल्लो लिक्विडिटी लिएपछि बजार उल्टो दिशामा जान सक्ने भएकाले त्यस्ता क्षेत्रमा एक्जिटको सम्भावना पनि खोज्नुपर्ने उनी बताउँछन्।

SMC को अर्को महत्वपूर्ण अवधारणा Inducement हो। बजारले कुनै दिशामा खुद्रा लगानीकर्तालाई आकर्षित गरेर उनीहरूलाई अपेक्षितभन्दा विपरीत दिशामा कारोबार गर्न उक्साउने अवस्थालाई इन्डुसमेन्टका रूपमा बुझ्न सकिने सुवेदी बताउँछन्। अपट्रेन्डमा लगातार हायर हाइ र हायर लो बनिरहेको अवस्थामा महत्वपूर्ण पुलब्याकको लोमा मूल्य पुगेपछि थप लिक्विडिटी संकलन गरेर बजार पुनः आफ्नो मुख्य दिशामा जान सक्ने सम्भावनालाई यस अवधारणामार्फत अध्ययन गरिन्छ।

नेपाली सेयर बजार अर्थात् NEPSE मा समेत SMC का अवधारणालाई प्रयोग गरेर चार्ट अध्ययन गर्न सकिने सुवेदीले बताएका छन्। स्ट्रक्चर म्यापिङका लागि डेली वा एक घण्टाको टाइमफ्रेम प्रयोग गर्न सकिने र इन्ट्रीका लागि तुलनात्मक रूपमा सानो टाइमफ्रेममा जान सकिने उनको भनाइ छ। तर नेपाली बजारमा धेरै सानो टाइमफ्रेममा ‘न्वाइज’ तथा ट्र्यापको सम्भावना बढी हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।

हालको बजारबारे चर्चा गर्दै सुवेदीले Change of Character/Market Structure Shift देखिएको अवस्थामा बजारले लिक्विडिटी लिन पुनः तलतिर आउन सक्ने सम्भावनालाई अध्ययन गर्नुपर्ने बताएका छन्। मूल्य कुनै क्षेत्रमा पुगेकै आधारमा तत्काल खरिद गर्नुभन्दा एकुमुलेसन वा संस्थागत प्रकारको क्यान्डल/प्याटर्न बनेपछि मात्रै इन्ट्री खोज्नु उपयुक्त हुने उनको भनाइ छ।

संस्थागत लगानीकर्ताले पर्याप्त कित्ता संकलन नगरेसम्म बलियो र्‍याली नआउन सक्ने भएकाले कुन स्टकमा स्मार्ट मनी ‘फसेको’ वा संकलन गरिरहेको छ भन्ने बुझ्न Fixed Range Volume Profile तथा VPVR जस्ता उपकरण उपयोगी हुन सक्ने उनले बताएका छन्।

सुवेदीको तर्कमा SMC को आधारभूत सोच डिमान्ड जोनमा संस्थागत खरिदको सम्भावित क्षेत्र र सप्लाई जोनमा उनीहरूले बिक्री गर्न सक्ने क्षेत्र पहिचान गर्नु हो। त्यसैले चार्टमा देखिएको प्रत्येक सपोर्ट वा ब्रेकआउटलाई सिधै खरिद–बिक्रीको संकेत मान्नुभन्दा लिक्विडिटी, स्ट्रक्चर र अर्डर जोनलाई एकसाथ अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स