सूर्यकुण्ड हाइड्रोमा बाढीले पुर्यायो क्षति, के कति पर्यो असर ?

सूर्यकुण्ड हाइड्रोमा बाढीले पुर्यायो क्षति, के कति पर्यो असर ?
Advertisement Ads

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा निकासी प्रभावित भएको छ। कम्पनीका अनुसार आयोजनाका मुख्य संरचना तथा उपकरणमा प्रत्यक्ष क्षति नभए पनि नेपाल विद्युत् प्राधिकरणको प्रसारण संरचनामा भएको क्षतिका कारण विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको आयोजनाबाट विद्युत् उत्पादन यसअघि नै बन्द रहेको कम्पनीले जनाएको छ। २०८३ असार ११ गते गएको पहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाको विद्युत् निकासी अवरुद्ध भएको थियो। त्यसको मर्मत तथा पुनःस्थापना कार्य अन्तिम चरणमा पुगेका बेला २०८३ भदौ १० गते आएको आकस्मिक बाढीले विद्युत् निकासी हुँदै आएको Trishuli 3B Hub Substation पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बाढीपछि गरिएको स्थलगत निरीक्षणमा आयोजनाका मुख्य संरचना तथा उपकरणमा प्रत्यक्ष भौतिक क्षति देखिएको छैन। कम्पनीको स्वामित्वमा रहेको प्रसारण लाइन तथा सम्बन्धित पूर्वाधारमा पनि बाढीबाट क्षति नभएको उल्लेख छ। बाढी तथा यसअघिको पहिरोका कारण कुनै मानवीय क्षति नभएको कम्पनीले जनाएको छ।

विद्युत् उत्पादन तथा Power Evacuation अवरुद्ध हुँदा कम्पनीको आम्दानीमा भने प्रत्यक्ष असर परेको छ। कम्पनीले उपलब्ध उत्पादन तथा आम्दानी विवरणका आधारमा साउन, भदौ र असोज ११ गतेसम्म विद्युत् उत्पादन हुन नसक्दा करिब रु. ७ करोड ४१ लाख ६१ हजार १८८.५१ बराबरको आम्दानी गुमेको प्रारम्भिक अनुमान गरेको छ। वास्तविक वित्तीय प्रभाव अन्तिम उत्पादन तथा लेखा विवरणका आधारमा यकिन हुने कम्पनीले जनाएको छ।

आयोजना पुनः सञ्चालन हुने निश्चित मिति भने तय भएको छैन। विद्युत् उत्पादन पुनः सुरु गर्न मुख्य रूपमा त्रिशूली थ्रीबी हब सबस्टेसनको पुनःस्थापना तथा वैकल्पिक प्रसारण मार्गको व्यवस्था आवश्यक रहेको कम्पनीले जनाएको छ। यस विषयमा नेपाल विद्युत् प्राधिकरणसँग निरन्तर समन्वय भइरहेको छ।

विद्युत् उत्पादन रोकिँदा कम्पनीको नगद प्रवाहमा समेत असर परेको छ। कम्पनीका अनुसार आगामी प्रथम त्रैमासिक अवधिमा अनुमानित रु. ३ करोड ४ लाख ५३ हजार १३१.६३ ब्याज दायित्वमध्ये उक्त अवधिमा भुक्तानी गर्न सकिने रकम यही अवस्थामा सीमित रहनेछ। सो अवधिमा भुक्तानी गर्नुपर्ने अनुमानित सावाँ किस्ता रु. १ करोड २५ लाख १८ हजार ४३७.७७ रहेको कम्पनीले जनाएको छ। ऋण तथा किस्ता दायित्व व्यवस्थापनका लागि ऋणदाता बैंक तथा वित्तीय संस्थासँग समन्वय भइरहेको छ।

आयोजना तथा सम्पत्तिको बीमा गरिएको भए पनि आयोजनाका मुख्य संरचना तथा उपकरणमा प्रत्यक्ष भौतिक क्षति नभएकाले हालसम्म बीमा दाबी पेश नगरिएको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनी व्यवस्थापनले आयोजनाको स्थलगत निरीक्षण तथा प्राविधिक मूल्याङ्कन गरी पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाएको जनाएको छ। क्षतिग्रस्त त्रिशूली थ्रीबी हब सबस्टेसनको अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक प्रसारण मार्गको सम्भाव्यता तथा व्यवस्थापनबारे पनि नेपाल विद्युत् प्राधिकरणसँग छलफल भइरहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स