बाढीपछि मैलुङ खोला जलविद्युत्को यस्तो छ अवस्था

बाढीपछि मैलुङ खोला जलविद्युत्को यस्तो छ अवस्था
Advertisement Ads

रसुवामा आएको विनाशकारी बाढीका कारण मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएको छ।

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले आयोजनाको विद्युत् उत्पादन संरचना, विद्युत्गृह, स्विचयार्ड, आवासगृह, पहुँचमार्ग, प्रसारणसम्बन्धी संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको कम्पनीले जनाएको छ। आयोजनामा भएको क्षतिको विस्तृत प्राविधिक मूल्याङ्कन भइरहेको छ।

बाढीका कारण आयोजनाको सम्पूर्ण ५ मेगावाट उत्पादन क्षमता प्रभावित भएको छ। कम्पनीका केही कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेको जनाएको छ। आयोजनाका संरचना तथा सम्पत्तिको बीमा गरिएको छ भने कम्पनीले बीमा कम्पनीलाई प्रारम्भिक जानकारी गराइसकेको छ। विस्तृत क्षतिको मूल्याङ्कनपछि बीमा दाबी प्रक्रिया अघि बढाइनेछ।

बाढीबाट आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द हुँदा आम्दानी, नगद प्रवाह तथा समग्र वित्तीय अवस्थामा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ। विद्युत् उत्पादन र आम्दानी प्रभावित भएकाले बैंक ऋणको साँवा तथा ब्याज भुक्तानीमा समेत असर पर्न सक्ने देखिएको छ।

आयोजनामा व्यापक क्षति पुगेकाले पुनः सञ्चालनको समय अहिले यकिन गर्न नसकिने कम्पनीले जनाएको छ। पहुँचमार्गमा समेत बेत्रावती क्षेत्रदेखि क्षति पुगेको बताइएको छ। कम्पनीले प्रभावित क्षेत्रमा कर्मचारी तथा प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, सुरक्षा व्यवस्थापन, बीमा दाबी तथा आवश्यक मर्मत र पुनःस्थापनाको काम अघि बढाएको छ।

प्रसारण लाइन, स्विचयार्डलगायत विद्युत् पूर्वाधारमा भएको क्षतिको प्राविधिक निरीक्षण भइरहेको र विस्तृत मूल्याङ्कनपछि थप विवरण सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स