डाटा हब प्रालिको डाटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएको भन्दै वाइको नेपालले स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई पत्र पठाएको छ।
वाइकोले डाटा हबबाट प्राप्त आधिकारिक जानकारीका आधारमा डाटा सेन्टरमा भएको र्यान्समवेयर घटनाले टीएमएस, सीडीएससीसँग सम्बन्धित प्रणाली, पेमेन्ट गेटवे तथा अन्य जोडिएका सेवाहरू प्रभावित भएको जनाएको छ।
र्यान्समवेयर आक्रमण भनेको कम्प्युटर वा डिजिटल प्रणालीमा प्रवेश गरी फाइल तथा डाटा नियन्त्रणमा लिने र त्यसलाई पुनः पहुँच दिन पैसा माग्ने किसिमको साइबर आक्रमण हो।
वाइकोले आज पठाएको पत्रमा प्रभावित प्रणालीहरूलाई सुरक्षाका लागि आइसोलेसनमा राखिएको र घटनाको वास्तविक प्रभाव तथा क्षतिको मूल्याङ्कन भइरहेको उल्लेख गरेको छ।
डाटा सेन्टर र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच नेटवर्क कनेक्सन रहेकाले घटनाले सेयर कारोबार प्रणालीमा साइबर सुरक्षा, सञ्चालन तथा डाटाको विश्वसनीयतासँग सम्बन्धित जोखिम निम्त्याउन सक्ने वाइकोले जनाएको छ।
यही घटनालाई ध्यानमा राख्दै आजको नियमित सेयर कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ। नेप्सेले डाटा हबमा देखिएको समस्याका कारण हालको अवस्थामा कारोबार सञ्चालन गर्दा कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै कारोबार स्थगित गरेको हो।
वाइकोले ब्रोकर एसोसिएसनलाई पठाएको उक्त पत्र भिजन सेक्युरिटिजले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो।

र्यान्समवेयर आक्रमण भनेको के हो? कसरी हुन्छ र किन खतरनाक छ?

प्रतिकृया