नेपाल धितोपत्र बोर्डले नेपाली पुँजी बजारमा अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयन गर्ने तयारी अघि बढाएको छ। बोर्डले आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तय गर्न ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको हो।
बजारमा तरलता बढाउने, मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने र आधुनिक पुँजी बजार पूर्वाधार विकास गर्ने उद्देश्यले अवधारणापत्र तयार गरिएको बोर्डले जनाएको छ।
अवधारणापत्रमा अन्तरदिवसीय कारोबारलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनेभन्दा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। प्रारम्भमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउने प्रस्ताव छ।
सुरुमा ‘Buy First, Sell Later’
बोर्डले प्रारम्भिक चरणमा ‘Buy First, Sell Later’ अर्थात् पहिले खरिद गरेर सोही दिन बिक्री गर्ने प्रकारको अन्तरदिवसीय कारोबार सुरु गर्ने प्रस्ताव गरेको छ।
त्यसपछि धितोपत्र सापटी तथा उधारो कारोबार र Covered Short Selling का लागि आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्रै ‘Sell First, Buy Later’ प्रकृतिको कारोबार सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
यसका लागि योग्य धितोपत्र र लगानीकर्ताको मापदण्ड, ब्रोकरको कार्यविधि, जोखिम खुलासा, मार्जिन तथा जोखिम व्यवस्थापन प्रणाली, बजार निगरानी र प्रविधिगत पूर्वाधार तयार गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ।
त्यसपछि परीक्षण, पाइलट कार्यक्रम र तयारीको मूल्यांकनमार्फत कारोबारलाई क्रमशः कार्यान्वयनमा लैजाने प्रस्ताव गरिएको छ।
लगानीकर्ता संरक्षणलाई प्राथमिकता
अवधारणापत्रले अन्तरदिवसीय कारोबारमा लगानीकर्ता संरक्षण, जोखिममा आधारित नियमन, वास्तविक समयको कारोबार तथा निगरानी र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको छ।
परीक्षण चरणबाट प्राप्त अनुभव र जोखिम मूल्यांकनका आधारमा प्रारम्भमा सीमित राखिएको धितोपत्रको दायरा पछि विस्तार गर्न सकिने प्रस्ताव गरिएको छ।
बोर्डका अनुसार अवधारणापत्र तयार गर्ने क्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल तथा आवश्यक अध्ययन गरिएको थियो।
यो पहल अर्थ मन्त्रालयले २९ भदौ २०८३ मा जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीतिमा उल्लेखित अन्तरदिवसीय कारोबार कार्यान्वयन गर्ने लक्ष्यसँग सम्बन्धित छ।
बोर्डले अवधारणापत्र सार्वजनिक गर्दै सम्बन्धित सरोकारवालालाई प्रस्तावित व्यवस्थामाथि राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गरी सुझाव दिन आग्रह गरेको छ। बोर्डले मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदालाई पनि सुझाव समेटेर अन्तिम रूप दिने प्रक्रिया अघि बढिरहेको जनाएको छ।

प्रतिकृया