हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी १५ लाख कित्ता सेयर बिक्री गर्ने विषयमा नक्कली पत्र सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रसारित भएको भन्दै स्पष्टीकरण दिएको छ।
कम्पनीका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सम्बोधन गरिएको, चलानी नं. ३५/८३/८४ र मिति २०८३/०६/११ उल्लेख भएको उक्त पत्रमा कम्पनीका सेयरधनी अम्बिका प्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता सेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएको उल्लेख गरिएको थियो। तर, कम्पनीले उक्त पत्र आफूले जारी नगरेको र पत्र नक्कली भएको स्पष्ट पारेको छ।
कम्पनीले पत्रमा प्रयोग गरिएको लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षर आफ्नो जानकारी र स्वीकृतिबिना जालसाजीपूर्वक तयार पारिएको जनाएको छ। साथै, विज्ञप्ति जारी हुँदासम्म अम्बिका प्रसाद पौडेलबाट नेपाल धितोपत्र बोर्डको २०८३ भदौ ९ गतेको निर्देशनअनुसार सेयर बिक्री गर्ने मनसायसहितको कुनै निवेदन, सूचना वा जानकारी कम्पनीमा प्राप्त नभएको जनाएको छ।
धितोपत्र बोर्डको उक्त निर्देशनअनुसार सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्नुपर्ने भए कम्तीमा १५ दिनअघि कम्पनीलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ। यस्तो जानकारी प्राप्त भएपछि कम्पनीले नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र त्यसको मान्य अवधि तीन महिनाको हुने कम्पनीले जनाएको छ।
कम्पनीले वास्तविक रूपमा यस्तो जानकारी प्राप्त भएमा नेप्सेको आधिकारिक सूचना प्रणाली र आफ्नो वेबसाइटमार्फत मात्र सार्वजनिक गर्ने स्पष्ट पारेको छ। अन्य माध्यमबाट प्रकाशित सूचनालाई अप्रमाणित मान्न पनि कम्पनीले आग्रह गरेको छ।
कम्पनीले नक्कली पत्र तयार पार्ने तथा प्रसार गर्ने व्यक्ति वा समूह र जानीजानी त्यसलाई पुनः प्रकाशन वा प्रसारण गर्ने पक्षविरुद्ध कानुनी उपचार खोज्ने जनाएको छ। यस विषयमा नेपाल धितोपत्र बोर्ड र नेप्सेमा लिखित उजुरी दिने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
साथै, सेयरधनी तथा लगानीकर्तालाई सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित सामग्रीका आधारमा लगानीसम्बन्धी निर्णय नगर्न र कम्पनीका आधिकारिक सूचना तथा नेप्सेबाट प्रकाशित जानकारीमा मात्र भर पर्न आग्रह गरिएको छ।

प्रतिकृया